एउटा निर्णयले साँढे दुई लाख बेरोजगार, ३२ लाखलाई प्रत्यक्ष असर

काठमाडौं, १ साउन । एउटा निर्णयले साँढे दुई लाखलाई बेरोजगार बनाएको छ । त्यसै पनि तलब तपाइरहेका र कतै कतै आधा मात्र पाइरहेका उनीहरु आजबाट बेरोजगार भएका छन् । उनीहरु हुन् निजी विद्यालयमा काम गर्दै आएका शिक्षक र कर्मचारी ।

हिजो अचानक विज्ञप्ति निकालेर निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनले पठनपाठनको सबै काम स्थगित गर्ने निर्णय गरेका थिए । उनीहरुले आर्थिक संकट भएको भन्दै शिक्षक र कर्मचारीलाई बेतलबी बिदामा बस्न भनेका छन् ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले तलब दिन सक्ने अवस्था नरहेकाले वाध्य भएर अनलाइन शिक्षा समेत बन्द गरिएको बताए । सरकार आफूहरुको मागप्रति उदासिन रहेको उनीहरुको आरोप छ ।

निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आएपनि धेरैजसोले मासिक शुल्क उठाउन सकिरहेका छैनन् । विभिन्न विद्यार्थी संगठनले मासिक शुल्क नउठाउन चेतावनी दिदै आएका छन् । साँढे तीन महिना लकडाउन भइसकेको अवस्थामा निजी विद्यालयका शिक्षक र कर्मचारी ठुलो समस्यामा परेका छन् ।

अधिकांश सञ्चालनमा आउन सकेका छैनन् । कतिपय बन्द हुने अवस्थामा पुगेका छन् । धेरैको रोजगारी पहिल्यै नै गुमिसकेको थियो । अब साँढे दुई लाख बेरोजगार भएका छन् । यसले ठुलो समस्या ल्याउन सक्ने देखिएको छ ।

निजी विद्यालयमा ३० लाख विद्याथी अध्ययनरत छन् । यति ठुलो संख्याका विद्यार्थीहरु आजबाट पठनपाठनबाट वञ्चित भएका छन् ।

Top