लकडाउन प्रभाव : रेमिट्यान्स ३ प्रतिशत घट्यो, आयातमा भारी गिरावट हुँदा शोधनान्तर पौन २ खर्ब बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ आर्थिक वर्षको ११ महिनासम्म देशको आर्थिक सूचाकांक उत्साहजनक रहेको बताएको छ । केन्द्रीय बैंकले ११ महिना तथ्यांकका आधारमा देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अधिकांश परिसूचक सकारात्मक भएको दाबी गरेको हो ।

केन्द्रीय बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.५४ प्रतिशत छ । गत आवको एघार महिनामा औसत मुद्रास्फीति भने ६.२८ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । ११ महिनाको अविधमा आयात अघिल्लो आवको तुलनामा १५.३ प्रतिशतले घटेको छ भने निर्यात ०.२ प्रतिशतले बढेको छ ।

यस अवधिमा विप्रेषण आप्रवाह ३ प्रतिशतले बताइएको छ । समीक्षा अवधिमा विप्रषण घटे पनि आयातको गिरावट दर बढी हुँदा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा छ ।

जसकारण कुल विदेशी विनिमय सञ्चिति बढेर १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ अर्थात् १० अर्ब ७९ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चितिले ११.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ ।

यस अवधिमा संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च ८ खर्ब ४३ अर्ब ९४ करोड र राजस्व परिचालन ६ खर्ब ४७ अर्ब ८० करोड रहेको थियो । ११ महिनामा विस्तृत मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १७.५ प्रतिशतले बढेको हो ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.३ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १०.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १८.१ प्रतिशत र कर्जाको वृद्धिदर ११.९ प्रतिशत छ ।

मुद्रास्फीति
२०७७ जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.४१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८७ प्रतिशत रहेको छ ।

११ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत दाल तथा गेडागुडी, सुर्तिजन्य वस्तु, मसला, अल्कोहलिक पेय पदार्थ र फलफूल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । जेठसम्म महिनामा काठमाडौं उपत्यकामा ४.४३ प्रतिशत, तराईमा ४.८६ प्रतिशत, पहाडमा ४.१३ प्रतिशत र हिमालमा ४.३४ प्रतिशत मुद्रास्फीति छ । २०७६ जेठमा यी क्षेत्रहरुमा क्रमशः ७.१० प्रतिशत, ५.८० प्रतिशत, ५.७० प्रतिशत र ६.४६ प्रतिशत मुद्रास्फीति थियो ।

२०७७ जेठमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.३२ प्रतिशत रहेको थियो ।

११ महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ६.६० प्रतिशत र ३.६२ प्रतिशत थियो छ ।

समीक्षा महिनामा उपभोग्य वस्तु र निर्माण सामग्रीको थोक मूल्य क्रमशः ०.३४ प्रतिशत र ४.६७ प्रतिशतले घटेको छ ।

केन्द्रीय बैंकका अनुसार ११ महिनामा अघिल्लो वर्षको तुलनामा तलब तथा ज्यालादर साढे ७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक २०७७ जेठमा ७.४८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ९.५४ प्रतिशतले बढेको थियो ।

विदेश जाने पनि घटे
११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५.७ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।

यता जेठ मसान्तसम्म खुद ट्रान्सफर आयमा ३.६ प्रतिशतले कमी आई ८ खर्ब ७२ अर्ब ७८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६.६ प्रतिशतले बढेको थियो ।

Top