सार्वजनिक सवारीमा इ–टिकेटिङ लागू हुने

काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको टिकट खरिदबिक्रीमा अटोमेटिक फेयर कलेक्सन (एएफसी) प्रणाली लागू हुने भएको छ । कोरोनाका कारण भएको लकडाउनपछि सार्वजनिक सवारीसाधनमा यात्रु र सहचालकबीच स्पर्श गर्न नपर्ने, प्रविधियुक्त र आधुनिक सेवाको विस्तारसमेत हुने भन्दै इ–टिकेटिङ लागू गर्ने तयारी भएको हो । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रलाई प्रोत्साहन गरी आधुनिक प्रविधिको प्रयोगबाट अटोमेटिक फेयर कलेक्सन सिस्टम लागू गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए ।

‘कोरोनाको जोखिम कम भएको छैन, जनजीवनलाई सहज बनाउन सार्वजनिक यातायात सञ्चालन गर्नैपर्छ, त्यसैले सार्वजनिक यातायातको सेवा स्पर्शरहित र पारदर्शी बनाउन पनि अटोमेटिक फेयर कलेक्सन लागू गर्नुपर्छ,’ उनले भने । अहिले सञ्चालनमा ल्याउन लागिएको प्रणालीलाई बैंकहरूले उपलब्ध गराउने एटिएम कार्डसँग जोड्न सके प्राविधिक रूपमा सेवा बलियो हुने उनको भनाइ छ । ‘दिगो व्यवस्थापनका लागि एटिएममा एउटा चिप्स थपेर प्रणाली जोड्न सकिन्छ । अन्तर्राष्ट्रिय अभ्यास पनि यस्तै छ,’ उनले भने ।

एएफसी प्रणाली सञ्चालनबारे महानगरले छलफल थालेको र अब छिट्टै यो प्रणाली लागू हुने उनले बताए । महानगरले पहिलो चरणमा काठमाडौंका चक्रपथसहित पाँचवटा मुख्य रुटमा चल्ने तीन सयवटा बसमा यो प्रणाली परीक्षणका लागि लागू गर्ने तयारी गरेको छ ।

अटोमेटिक फेयर कलेक्सन सिस्टमले ट्राफिक व्यवस्थापनलाई समेत सहज बनाउने महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘सार्वजनिक यातायातको टिकटलाई विद्युतीय बनाएपछि बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिकलगायत कुन वर्गका मानिस यात्रा गर्छन्, कुन समयमा र कुन ठाउँमा यात्रुको बढी चाप छ, सूचना प्राप्त गर्न पनि सहज हुन्छ,’ एसएसपी ढकालले भने । एएफसी प्रणालीमा हरेक यात्रुले तिरेको रकम सीधै बैंक खातामा जम्मा हुने व्यवथा हुन्छ । फिनटेकका महाप्रबन्धक हेमन्त अग्रवालले काठमाडौंका विभिन्न रुटमा चल्ने १८ वटा बस कम्पनीसँग सम्झौता भइसकेको जानकारी दिए । ती कम्पनीसँग करिब १२ सय बस छन् । प्रणाली सञ्चालन गर्न महानगरले साझेदारहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

यात्रुले भाडा कसरी तिर्ने ?
यो प्रणाली बसमा जडान हुनेछ । बसमा चढ्दा र उत्रँदा यात्रुसँग भएको कार्ड ट्याब गर्दा स्वतः उसको यात्रा दूरी कायम भएर यातायात व्यवस्था विभागले तोकेको भाडा काटिन्छ । यदि कसैसँग कार्ड छैन भने सहचालकसँग कार्ड लिन सकिने प्रबन्ध मिलाइनेछ । कार्ड लिन नचाहने यात्रुलाई सहचालकसँग भएको मेसिनबाट विद्युतीय टिकट जारी गरेर भाडा लिइन्छ । बस रुटमा राखिने बुथबाट कार्ड निःशुल्क रिचार्ज गर्न सकिन्छ । कार्डमा बढीमा पाँच सय रुपैयाँ रिचार्ज गर्न सकिनेछ । त्यस्तै, बसभित्र रहेको मेसिन बैंक र मोबाइल एप्लिकेसनबाट पनि कार्ड रिचार्ज गर्न सकिन्छ । यसरी यात्रुबाट संकलन भएको रकम हरेक दिन साँझ स्वतः व्यवसायीहरूको बैंक खातामा जम्मा हुनेछ ।

Top