राष्ट्र बैंकले घटायो नीतिगत दर, कर्जा झनै सस्तो हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत ब्याजदरको रुपमा रहेको रिपो ब्याजदर ३ प्रतिशतमा कायम गर्ने भएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमार्फत् गभर्नर महाप्रसाद अधिकारीले रिपो ब्याजदर झनै सस्तो बनाउने घोषणा गरे ।

व्यवस्थाअनुसार नीतिगत दरको रुपमा रहेको रिपोदरलाई ३.५ प्रतिशतबाट घटाई ३ प्रतिशत कायम गरिने भएको हो ।

नेपाल राष्ट्र बैंकले यसअघि पनि कोभिड–१९ को प्रभाव प्रारम्भिक राहतस्वरुप नीतिगत ब्याजदर १ प्रतिशतले घटाएको थियो । गत चैतमा रिपो दर ४.५ प्रतिशतबाट ३.५ प्रतिशत कायम गरिएको हो ।

नीतिगत ब्याजदर सस्तिँदा कर्जाको ब्याजदर पनि सस्तो हुने बताइएको छ ।

यसैगरी ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशतमा यथावत् राखिएको छ । करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई २ प्रतिशतबाट घटाई १ प्रतिशत कायम गरिएको गभर्नर अधिकारीले जानकारी दिए ।

Top