सरकारी खर्चमा यस्ता नागरिकको हुनेछ उद्धार

काठमाडौं : अलपत्र नागरिकलाई फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित भएसँगै अब विदेशमा अलपत्र नेपालीले सरकारी खर्चमा फर्किन पाउने भएका छन्। सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई तत्काल उद्धार गरी स्वदेश फिर्ता ल्याउन गरेको अन्तरिम आदेशको कार्यान्वयन गर्दै सरकारले कार्यविधि नै बनाएर सरकारी खर्चमा नागरिकको उद्धार गर्न लागेको हो। रोजगारीको खोजीमा विदेशिएका श्रमिकहरु जटिल परिस्थितिमा स्वदेश फर्किन चाहेका छन्। कतिपय रोजगारी गुमेर अलपत्र छन्। कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई अब सरकारी खर्चबाटै स्वदेश ल्याइने भएको छ। त्यसका लागि अलपत्र परेका कस्ता नेपालीले सरकारी खर्चमा स्वदेश आउन पाउँछन् त? वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अलपत्रमा परेका टिकट खर्च नभएका, विदेश पुगेको १ वर्ष नपुगेका र डकुमेन्ट भएका नागरिकहरूलाई सरकारी खर्चमा उद्धार गरिने छ। १ वर्ष नपुगेकालाई पूरै टिकट सरकारले बेहोर्नेछ भने १ वर्ष वा सोभन्दा माथि समय भएकाहरूलाई भने ५० प्रतिशत टिकट खर्च सरकारले व्यहोर्ने छ। यसका लागि सरकारी खर्चमा स्वदेश फर्कन चाहने नेपाली नागरिकले सम्बन्धित मुलुकस्थित दूतावासमा सम्पर्क गर्नुपर्नेछ। दूतावासले जाँचबुझ गरेर उनीहरुलाई नेपाल फर्काउने प्रक्रिया अगाडि बढाउने छ । उनका अनुसार यो कार्यविधि कोरोनाको महामारीसम्म मात्रै लागू हुनेछ । त्यसपछि भने कार्यविधि स्वत: खारेज हुनेछ। यसअनुसार सरकारले कति नागरिकलाई सरकारी खर्चमा उद्धार गर्छ भन्ने आंकलन भने गरेको छैन। यद्यपि, हाललाई यसका लागि बैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट ४० करोड बजेट छुट्याइएको छ । यसमा पनि आवश्यक परेको खण्डमा बजेट थप्न सकिने छ। यस्तै, यसअघि आफ्नै खर्चमा स्वदेश फर्किएकाहरूले पनि टिकट बापतको रकम पाउनेछन्। विभागका महानिर्देशक दाहालका अनुसार प्रमाणित भएको अवस्थामा उनीहरुले रकम फिर्ता पाउनेछन्। उनले भने ‘त्यो पनि प्रमाणित भएको खण्डमा त्यसखालका हुन्, भने यो लागु भएको मिति होला, कार्यविधि बनाउनेमा म पनि थिए। अब त्यसमा के के परिवर्तन भएर आयो। हामीले पठाउदा खेरी यो लागु भएको मिति भएपछि आएकाले बिल भर्पाइ पेश गरे त्यो पनि दिने भन्ने कुरा उल्लेख थियो।’ अलपत्र नेपाली नागरिकले आफ्नो देश फर्किन हारगुहार गरिरहेका भएपनि सरकारले महिनौँ पछाडि निःशुल्क उद्धार कार्य थाल्न लागेको हो। यसैगरी, नेपाली श्रमिक विदेशमा अलपत्र पर्दा वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरुले पनि उद्दारमा चासो नदिएको गुनासो आइरहेको छ। तर, व्यवसायीहरुले भने कामदार उद्दारका लागि सक्दो प्रयास गरेको दावी गरेका छन्। साथै लकडाउनका कारण हवाई उडानको अनुमति नपाउँदा थप समस्या भएको वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङ बताउछन्। उनि भन्छन्,’ हामीले केहि पहल नगरेको होईने, तर लकडाउनका कारण अन्तराष्ट्रिय उडानहरुलाई अवतरणको अनुमति नहुदा हामीले उद्धारमा पहल गर्न सकेनौ, तर पनि व्यवसायीहरुले पैसा तिरेरै भए पनि केहि नागरिकहरुको उद्धार गरेका छौँ।’

Top