‘खल्ती’ र नेपाल बैंकबीच सहकार्य, बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने News Technology by Remit Khabar - 19/07/20200 काठमाडौं- ‘खल्ती’ डिजिटल वालेटले नेपाल बैंकसँग सहकार्य सुरू गरेको छ। सहकार्यसँगै अब ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिंग र इन्टरनेट बैंकिंग सेवा प्रयोग गरेर मोबाइल वालेटमा नगद लोड गर्न सक्ने भएका छन्। ‘खल्ती’ले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी सिधै वस्तु तथा खेवाको भुक्तानी गर्न सक्ने जानकारी दिइएको छ। दुवै संस्थाबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा नेपाल बैंकको केन्द्रीय कार्यालयमा आयोजतिक कार्यक्रममा खल्तीका तर्फबाट निर्देशक अमित अग्रवाल र प्रमुख व्यवसाय विकास अधिकृत सदित घिमिरे तथा नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका छन्। नेपाल बैंकसँगको सहकार्यपछि ‘खल्ती’ जोडेर सिधै वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने बैंकको संख्या चार पुगेको छ। यसअघि एनआइसी एसिया, लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकका ग्राहकले मात्र ‘खल्ती’ डिजिटल वालेटलाई खातासँग जोडेर सिधै भुक्तानी गर्न सक्ने अवस्था थियो। ‘खल्ती’का निर्देशक अमित अग्रवाल मुलुककै जेठो बैंकले कान्छो डिजिटल वालेटलाई विश्वास गरेकामा आफूहरू गौरवान्वित भएको बताएका छन्। ‘नेपाल बैंकसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो,’ उनले भने, ‘ठूलो नेटवर्क र लाखौं ग्राहक भएको बैंक ‘खल्ती’सँग जोडिएपछि धेरै ग्राहकले ‘खल्ती’को सेवा उपयोग गर्ने हाम्रो विश्वास छ।’ ‘खल्ती’ डिजिटल वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढी पुगेको कम्पनीले जनाएको छ। ‘खल्ती’ एप यो लिंकबाट डाउनलोड गर्न सकिन्छ।