मलेसिया जाँदै हुनुहुन्छ ? यी नियम थाहा पाउनुहोस् Abroad News Rojgar by Remit Khabar - 21/07/20200 काठमाण्डौ – तपाईँ मलेसिया फर्कने सोच्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने मलेसियाले कोरोना महामारीको बेलामा आउनेका लागि लागू गरेको नियमकाबारेमा पनि जानकारी राख्नुहोला । मलेसियाले शुक्रबार अर्थात जुलाई २४ देखि मलेसिया जानेले अनिवार्य रुपमा होटल क्वरेण्टीनमा बस्नु पर्ने नियम लागू भएको छ । यो नियम मलेसियन र विदेशी नागरिक जसलाई प्रवेशको अनुमति दिइएको छ, उनीहरुले मलेसिया पुगेपछि अनिवार्य रुपमा होटल क्वरेण्टीनमा बस्नु पर्नेछ । यसरी होटल क्वरेण्टीनमा बस्दा लाग्ने खर्च सम्बन्धित व्यक्ति आफैंले व्यहोर्नु पर्नेछ । विदेशी नागरिकले मलेसिया जाँदा बोर्डिङ लिनुभन्दा तीन दिनअघिको कोभिड १९ परीक्षण गरेको रिपोर्ट पेश गर्नु पर्नेछ । मलेसियाले ग्रिन जोन देशहरु ब्रुनाई, सिंङ्गापुर, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र न्यूजिल्याण्ड स्वास्थ्य उपचारका लागि आउने पर्यटक भने व्यवसायिक उडानमार्फत आउन सक्ने बताएको छ । यस्तै मलेसियाले अहिले जारी ‘रिकोभरी मोमेन्ट कन्ट्रोल’ अर्डरको उल्लङ्घन गर्नेलाई अब सम्झाईबुझाई नगर्ने र सिधै कारबाही गर्ने बताएको छ । अहिले मानिसले यो नियमको उल्लङ्घन गर्ने क्रम बढेको भन्दै अब सम्झाईबुझाई नगरी सिधै कारबाही गर्ने बताएको हो । नियम उल्लङ्घन गरेको भेटिएमा प्रहरीले सम्झाउनुको साटो कारबाही गर्नेछ । मलेसियाले मे ४ देखि नै लकडाउन खुकुलो बनाउँदै लगेको थियो । अहिले मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । मलेसियामा अहिलेसम्म ८ हजार ८१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ८ हजार ५६२ जना निको भएका छन् भने १३० जनाको अस्पतालमा उपचार भइरहेको छ ।