वैदेशिक व्यापार १४.६९ प्रतिशतले खुम्चिँदा भन्सार राजस्व पनि १६ प्रतिशतले गिरावट

काठमाडौं । आर्थिक वर्ष २०७६–७७ मा नेपालको वैदेशिक व्यापार १४.६९ प्रतिशतले घटेको छ । आयात र निर्यात दुवैमा गिरावट आउँदा देशको वैदेशिक व्यापार आव २०७५–७६ को तुलनामा २ खर्ब २२ अर्ब रुपैयाँले घटेर १२ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको हो ।

अघिल्लो आर्थिक वर्ष १५ खर्ब १५ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा विदेशमा बिक्री वा विदेशबाट खरिद भएको थियो ।

लकडाउनका कारण उत्पादन र माग दुवै ठप्प हुँदा चार महिना उपभोग्य सामानको आयात–निर्यातमा भारी गिरावट आएको छ । भन्सार विभाग स्रोतबाट प्रापत प्रारम्भिक तथ्यांकअनुसार आयातमा साढे १५ प्रतिशत र निर्यात १ प्रतिशतले घटेको छ ।

विभागका अनुसार आव २०७६–७७ को १२ महिनामा ११ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । जबकि अघिल्लो आवको यही अवधीमा १४ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको थियो ।

यस्तै गत आवको पहिलो ८ महिनामा उत्साहपूर्ण तरिकाले सुधार भएको निर्यातमा ब्रेक लागेको छ । आवभर भएको आयात अघिल्लो वर्षको भन्दा ०.९८ प्रतिशतले घटेको हो । आव २०७५–७६ मा ९७ अर्ब ११ करोड रुपैयाँको निर्यात भएकोमा आव २०७६–७७ मा ९६ अर्ब १६ करोडमा सीमित भएको छ ।

वैदेशिक व्यापारमा आयात घट्दा व्यापार घाटा पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापार घाटा १६.७० प्रतिशतले खुम्चिएको हो । गत आवमा व्यापार घाटा २ खर्ब २० अर्बले कम भएर ११ खर्ब रुपैयाँ कामय भएको छ ।

वैदेशिक व्यापार खुम्चिँदा भन्सार राजस्व संकलन पनि प्रभावित बनेको छ । आर्थिक वर्ष २०७५–७६ मा ३ खर्ब ६२ अर्ब ७५ करोड रूपैयाँ भन्सार राजस्व संकलन भएकोमा गत वर्ष ३ खर्ब ५ अर्ब रूपैयाँ मात्र संकलन भएको छ ।

Top