ओमानस्थित दूतावास साउन २४ गतेसम्म बन्द, तर नेपालबाट जान पाइने

काठमाडौं । ओमानमा रहेको नेपाली दूतावास साउन २४ गते शनिबारसम्म बन्द हुने भएको छ । ओमान सरकारको उच्चस्तरीय कमिटीको साउन ६ (जुलाई २१) को निर्णयअनुसार साउन १० गते शनिबारदेखि साउन २४ गते शनिबारसम्म लकडाउनको घोषणा गरेको छ । यो घोषणासँगै ओमानका सम्पूर्ण प्रशासकीय क्षेत्र ठप्प रहनेछन् ।

कमिटीको साउन ८ गतेको निर्णयानुसार ओमानको भिसा तथा रेसिडेन्स कार्ड भएको र बिदामा नेपाल गएकाहरू भने फर्कन पाउनेछन् । कमिटीले आफ्नो कम्पनी वा एयरलाइन्समार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर ओमान फर्कन सक्ने जनाएको छ ।

यस्तै नेपाल सरकार मन्त्रिपरिषद्को साउन १ गतेको निर्णयअनुसार भदौ १ बाट तोकिएको प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसका कारण ६ महिनाभन्दा बढी नेपाल बसेकाहरू पनि ओमानको सम्बन्धित निकायको अनुमतिमा फर्कन पाउने दूतावासले जनाएको छ । हाल नेपालमा रहेका र ओमान फर्कन चाहनेले आफ्नो कम्पनीमा सम्पर्क गर्नसमेत दूतावासले भनेको छ ।

ओमानमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर बढेसँगै त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन तथा स्थानीय प्रशासनद्वारा जारी निर्देशनको पूर्ण पालना गर्न दूतावासले अनुरोध गरेको छ । साथै ओमानमा रहेका नेपालीहरुलाई केही समस्या भए दूतावासलाई सम्पर्क गर्न पनि विज्ञप्तिमार्फत् जनाइएको छ ।

कोरोनाका कारण समस्यामा परेका नेपालीलाई ओमानमा रहेको नेपाली दूतावासको संयोजकत्वमा स्वदेश पठाउने काम जारी छ । हालसम्म भएका तीन उडानमार्फत ४९२ जना नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।

Top