
दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अगष्ट १ देखि इमिरेट्स एयरलाइन्सले निश्चित देशबाट आउने यात्रुहरुको लागि कोभिड १९ को पीसीआर परीक्षण अनिवार्य गर्ने भएको छ ।
विश्वका ९ पाँचतारे एयरलाइन्समध्ये इमिरेट्स पनि एक हाे । इमिरेट्सले विभिन्न २९ देशको सूची सार्वजनिक गर्दै ती देशबाट आउने यात्रुहरुको दुबई विमानस्थलमा अनिवार्य पीसीआर परीक्षण गर्ने गल्फ न्यूजले लेखेको छ । त्यो सूचीमा भारत पाकिस्तान बंगलादेश लगायतका २९ देशहरु परेका छन् ।
यी देशहरुबाट आउने सबै यात्रुहरुले दुबई विमानस्थल तथा अल माक्ताने अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य रुपमा पीसीआर परीक्षण गर्नुपर्ने इमिरेट्स र दुबई एयरपोर्टले जारी गरेको प्रोटोकलमा उल्लेख छ ।
इमिरेट्सले प्रष्ट पार्दै लेखेको छ, ‘माथि सूचीबद्ध देशबाहेकका देशबाट आउने यात्रुहरुले पीसीआर परीक्षण गर्न आवश्यक हुने छैन ।’ अब यूएईका नागरिक समेत त्यहाँका आवासीय, पर्यटक तथा दुबई ट्रान्जिट हुने सबै यात्रु सहित दुबई जाने सबै यात्रुहरुले १ अगष्टदेखि पीसीआर नेगेटिभ भएको प्रमाण हुनुपर्ने छ ।
परीक्षण रिपोर्ट बढीमा ९६ घण्टा ननाघेको हुनुपर्नेछ । पीसीआर परीक्षण रिपोर्टविना फ्लाइटमा चढ्न नदिने एयरलाइन्सले जनाएको छ ।