जगदम्बा इन्टरप्राइजेजमा शिल, चार जना कर्मचारीमा कोरोना भेटिएपछि उत्पादन बन्द

वीरगंज। वीरगंज-पथलैयाको जीतपुर केराढोका नजिकै रहेको जगदम्बा इन्टरप्राइजेज प्रालिमा मंगलवार दिउँसो स्थानीय प्रशासनले सिल गरेको छ।

फलामजन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योग सञ्चालकको क्रममा त्यसमा कार्यरत कर्मचारी तथा मजदुरमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले उक्त उद्योगको उत्पादन बन्द गराई उद्योगको मुल गेटमा ताला लगाएको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा संकट व्यवस्थापन केन्द्र पर्साका प्रवक्ता ललितकुमार बस्नेतका अनुसार सोमवार राति थप ३ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको पाइएपछि स्वास्थ्य निकायको समन्वयमा उक्त उद्योग सिल गरिएको हो।

‘साउन ६ गते उद्योगका प्रमुख कार्यकारी अधिकृतमा कोरोना भेटिएको थियो, हिजो पनि २६, ४८ र ५६ वर्षका तीन जना मजदुर तथा कर्मचारीको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि उद्योग सिल गरेका हौँ’, उनले भने, ‘उद्योगमा भएका मजदुरहरुलाई उत्पादन बन्द गरी त्यसैमा आइसोलेसन र क्वारेन्टाइन बनाएर बस्न पनि निर्देशन दिएका छौँ।’

उनले प्रशासनको अर्को सूचना नआउन्जेल सम्म उद्योग नचलाउन पनि कडा निर्देशन दिएको बताए। वीरगंजका उद्योगी अनिल रुंगटा सञ्चालक रहेको उद्योगले फलामको जिआई पाइप, टेबुलर पोल, जागशक्तिको टिएमटी छड, स्टील ट्रसलगायत समाग्री उत्पादन गर्दै आएको छ।

Top