वैदेशिक रोजगारीमा जाने लर्को: यूएईदेखि अमेरिकासम्म जान ४२ सयभन्दा बढीले लिए स्वीकृति

काठमाडौं- कोरोना भाइरसको महामारीबीच सरकारले विदेशमा अलपत्र नेपालीलाई घर फर्काइरहेका बेला वैदेशिक रोजगारीमा जानेको पनि लर्को देखिएको छ।

पछिल्लो करिब दुई महिनामा ४ हजार २ सय ३२ जनाले पुन श्रम स्वीकृति लिएको वैदेशिक रोजगारी विभागले जनाएको छ। भिसाको म्याद भएका तथा करार अवधि नवीकरण भएका कामदारलाई सरकारले पुन: श्रम स्वीकृति दिएर विदेश जाने बाटो खोलेको छ। नयाँ श्रम स्वीकृति भने दिइएको छैन।

मंगलबारसम्म ३ हजार ९ सय ९ जना पुरुष र ३ सय २२ जना महिलाले पुन श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

विभिन्न ३९ देशका लागि त्यसरी श्रम स्वीकृति लिइएको छ। मलेसियाका लागि पाँच सय ९, जापानका लागि ३ सय ३७, कतारका लागि ८ सय ४४, यूएईका लागि १ हजार ९ सय २५ , कुवेतका लागि एक सय ५७ र ओमानका लागि ७८ जनाले पुन श्रम स्वीकृति लिएका छन्। अमेरिकाका लागि पनि चार जनाले पुन: श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

महिलाको हकमा युएईका लागि २ सय १५, कतारका लागि १९, माल्टाका लागि १७, मलेसियाका लागि १०, कुवेतका लागि २२, पोल्यान्डका लागि ९, ओमान, मालदिभ्स, जापान, जोर्डन र मकाउका लागि ३/३, इजरायलका लागि ७, लेबनानका लागि २, बहराइनका लागि ४ तथा कम्बोडिया र इजिप्टका लागि एक एक जनाले पुन: श्रम स्वीकृति लिएका छन्।

सोमबारसम्म ३५ हजार १ सय ८८ जना नेपालीलाई विदेशबाट ल्याइएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र-सीसिएमसीले जनाएको छ।

Top