वैदेशिक रोजगारीबाट फर्केर गाउँघरमै उद्यम

टोपलाल अर्याल
गुल्मी, । गुल्मीको रेसुङ्गा नगरपालिका ७ कुँडापानीका ३२ वर्षीय शम्भु पाण्डे ११ वर्षसम्म दुबई बसेर स्वदेश फर्किए । उनले त्यहाँ कृषिसम्बन्धी काम गर्दथे । आम्दानी पनि राम्रै थियो । तर,त्यो मेहेनतले स्वदेशमैं सुन फलाउन सकिने हिम्मत बोकेर उनी घर आए । विदेश फर्कने मन गरेनन् । उनले गाई पाल्न थाले । पाण्डे अचेल गाईको स्याहार गर्न र दुध बेच्नमै व्यस्त छन् ।
हाल उनले ६५ लाखको लागतमा २१ वटा गाई पालेका छन् । जसमध्ये धेरैले दूध दिइरहेका छ्न । केही ब्याउने र केही बाच्छाबाच्छी छन् । गाईपालनको लागि उनले पानी ट्यांकी, भकारो सुधारलगायतका कामहरु पनि गरेका छन् । हाल उनले गाईबाट मात्रै दैनिक ८५ देखि एक सय ५० लिटर सम्म दुध उत्पादन गर्छन् ।
जसबाट वार्षिक सात लाखसम्म आम्दानी हुने गरेको पाण्डेको भनाइ छ । विदेशको राम्रो कमाइ बिलासितामा सक्ने धेरै युवा र परिवार छ्न । तर,पाण्डे भने विदेशको कमाइ र अनुभवका आधारमा गाउँमै गाईपालनमा गरिरहेका छन् । नेपालको आर्थिक क्रान्ति नै कृषिबाट सम्भव भएकोले गाईपालन पेशा अबलम्बन गरेको पाण्डेय बताउँछन् । ‘नेपालको आर्थिक क्रान्ति नै कृषि र पशुपालनबाट सम्भव छ ’ उनले भने, ‘आगामी दिनमा गाईको संख्यामा बृद्धि गर्दै जाने विचार छ ।’
गाईपालन गरेबापत उनले किसानका लागि उन्नत बिउबिजन कार्यक्रमबाट १० लाख अनुदानसमेत लिइसकेका छन् । संस्थाले दिएको अनुदानले आफूलाई कार्यप्रति थप हौसला प्रदान गरेको उनको भनाइ छ । त्यसका साथै उनले घरमै बसेर काम गर्दा पारिवारिक आनन्दसमेत मिलेको बताए ।
पाण्डे मात्र होइन, रुरु गाँउपालिका रिडिबजारका ३७ वर्षीय रविलाल पन्थ जिल्लाका अब्बल किसान हुन् । उनी रोजगारिकै लागि १५ वर्ष दक्षिण कोरिया बसे । तर,पैसा र अनुभव बोकेर गाउँ आए र रिडिमै दुध डेरी संचालन गरे । डेरीमा अहिले दैनिक चार सयभन्दा बढी लिटर दुध संकलन हुन्छ ।
यसरी संकलन भएको दुधबाट दही, घिउ, पनिर, छुर्पिलगायतका दुधजन्य वस्तु उत्पादन गर्छन् । उत्पादित वस्तु पनि स्थानीय बजार र सदरमुकाम तम्घासमा खपत हुन्छ । यसबाट उनले मासिक ६० हजारभन्दा बढी आम्दानी गर्छन् । तीन बर्षदेखि संचालन गरेको दुध डेरीमा अहिले दैनिक छ सय लिटरको माग भएपनि आपूर्ति भने कम भएको उनको भनाइ छ । ‘विदेशको सिपलाई सदुपयोग गरेको हुँ, वार्षिक साढे सात लाख जति आम्दानी हुन्छ’ उनले भने, ‘आफ्नै ठाउँमा कर्म गरेकाले म बढी सन्तुष्ट छु ।’
किसानले उत्पादन गरेको दुध डेरीमा विक्री हुने हुनाले उक्त डेरीबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १५० भन्दा बढीले रोजगारीसमेत पाएका छन् । रिडी धार्मिक स्थल भएकोले शाहाकाहारीजन्य वस्तुहरुको खपत बढी हुने सम्भावना देखेर दुध डेरी संचालन गरेको पन्थले बताए । उनले पनि किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमबाट १० लाख अनुदान पाए । अनुदानपछि उनले गाउँमा गाईको संख्यामा वृद्धि गरी दुध उत्पादन बढाउने योजना बनाएको बताए । यसरी परदेशको पैसा र अनुभवपछि स्वदेशमै उधम गर्ने युवा जिल्लामा बढ्दै गएको छ । जिल्लाका बिनबहादुर जोगी कुँवर, अर्जुन कनौजे, कृष्ण बिष्टलगायतका युवाले व्यसायिक कृषिमार्फत उदाहरण योग्य काम गरिरहेका छ्न ।
केयुविकेले ५० प्रतिशतसम्म अनुदान दिने
किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम (KUBK) गुल्मीसहित अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान र रोल्पा गरी छ जिल्लामा लागू भएको छ । कार्यक्रमले द्रुत दरमा कृषि विकासका लागि बीउ बिजनको औपचारिक उत्पादनका लागि काम गर्ने किसानको आम्दानी कृषिमार्फत वृद्धि गर्ने लक्ष्य लिएको छ ।
यो कार्यक्रम नेपाल सरकार, कृषि विकास मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबीचको सम्झौतामा लागू भएको हो । गुल्मी जिल्लामा पनि ८६ सहकारी र केही निजी व्यक्तिहरुले अनुदानमार्फत यसबाट फाइदा लिएको केयुविके गुल्मीमा कार्यरत दामोदर पाखरेलले बताए ।
कामको आधारमा किसानलाई कुल लगानीको ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था रहेको पोखरेलले बताए । उनले राज्यले पनि कृषिउन्मुख नीति ल्याएपनि युवाहरुको विदेश जाने मोह भने नघटेको बताए । तर,विदेशबाट फर्किएर स्वदेशमै मनग्य आम्दानी गर्नेहरूको संख्या भने वृद्धि भैरहेको उनको भनाइ छ । फोटोः गुल्मीका अब्बल दुग्ध व्यवसायी तथा उद्यमी रबिलाल पन्त र उनको डेरी तथा तरकारी किसान बिनबहादुर जोगी कुँवर ।

Top