अनलाइन सपिङको ‘ट्रेन्ड’ बढ्दो, अफरमा इ–कमर्स कम्पनीबीच तीव्र प्रतिस्पर्धा

नेपालमा पछिल्लो समय अनलाइनबाटै सामान किन्ने चलन बढ्नथालेको छ।

इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, विद्युतीय भुक्तानी तथा ट्रान्सफरलगायत सुविधाले अनलाइन सपिङ फस्टाउन थालेको हो।

खासगरी कोरोना महामारीमा लकडाउनले घरबाहिर निस्किन नपाएका नेपालीलाई अनलाइनबाटै आवश्यक वस्तु ‘अर्डर’ गर्ने र मोबाइलबाटै भुक्तानी गर्ने बानी बसाइदियोे।

सेवाग्राही र वस्तु बिक्रेता इकमर्स कम्पनीहरुले यसलाई स्वर्णिम मौका ठान्दा पछिल्लो समय हुर्किँदै गरेको अनलाइन सपिङलाई राम्रै मलजल पुगेको हो।

त्यसो त नेपालमा २० वर्षअघि नै विश्वका कयौँ मुलुकमा जस्तै अनलाइन व्यवसाय गर्न सकिन्छ भन्ने अवधारणा आइसकेको थियो।

सन् २००० मा व्यवसायी अमृतमान तुलाधर अमेरिकाबाट फर्केर नेपालमा मुन्चा डटकम सुरु गरे। त्यही बेला ठमेल डटकम पनि सुरु भएको थियो।

त्यो बेलादेखि काठमाडौंमा अनलाइन सपिङ सुरु भएको थियो। त्यो बेला मुन्चाले विदेशीलाई सामान बेच्ने लक्ष्य राखेको थियो।

तर, त्यो लक्ष्यलाई मुलुकभर पनि विस्तार गर्ने खालको पूर्वाधार तयार हुनसकेन। किनभने मुलुकमा इन्टरनेट सुविधा सीमित क्षेत्रको पहुँचमा थियो। कम्प्युटर र मोबाइल सीमित व्यक्तिले प्रयोग गर्थे।

दुई दशकअघि रोपिएको अनलाइन सपिङको बीउ अहिले आएर हुर्किने अवस्थामा पुगेको छ। सञ्चालनमा रहेका मुख्य केही इ–कमर्स गर्ने कम्पनीहरु चर्को प्रतिस्पर्धामा उत्रिएका छन्।

उनीहरुले आफ्नो बजार विस्तार गर्न विभिन्न अफर र अभियन सञ्चालन गरेका छन् भने नयाँ आएकाहरु पनि त्यही प्रतिस्पर्धामा होमिएका छन्।

अहिले सानादेखि ठूला लगानीका दर्जनौँ अनलाइन सपिङहरु सञ्चालनमा छन्। विश्वव्यापी बनेको कोरोना महामारीसँगै मानिसहरु लकडाउनमा परे। घरबाट बाहिर निस्किने अवस्था नभएपछि यसैबीचमा अनलाइन सपिङको ‘ट्रेन्ड’ समेत बढेको छ।

मुलुकमा लकडाउन लागेदेखि नै अनलाइन सपिङ कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा सुरु भएको थियो।

लकडाउनकै अवधिमा एग्रिमुभजस्ता तरकारी बेच्ने अनलाइन सपिङहरुले पनि उपभोक्ताको मन जिते।

केही नयाँ अनलाइन सपिङहरु समेत यही समयमा आएका छन्। उनीहरुले बजारमा देखाएको उपस्थितिले अन्यलाई समेत दबाब परेको छ।

मुलुककै ठूला अनलाइन सपिङमध्येको दराजले आक्रामक रुपमा बजारीकरण गरिरहेको छ। पछिल्लो समय विभिन्न अफर ल्याएको दराज मार्केटिङ म्यानेजर सलिना नकर्मीले बताइन्।

उसले ‘दराज महाबचत बजार’ नाममा विभिन्न अफर ल्याएको छ। दराजले आठ दिने सेल (बिक्री) अभियान सञ्चालन गर्दै बचत भौचर, बचत अफर, निःशुल्क डेलिभरी (सामान पुर्याइदिने) अफर ल्याएको छ।

यसबाहेक ग्राहकहरुले इ–सेवामार्फत थप २० प्रतिशत अथवा एक हजार र पार्टनर बैकहरुको डेबिट र क्रेडिट कार्डमार्फत प्रि–पेमेन्ट (अग्रिम भुक्तानी) गर्दा थप १५ प्रतिशत वा दुई हजारसम्म छुट पाउनसक्ने अफर ल्याएको छ।

त्यस्तै, नेपालको अनलाइन सपिङमा लोकप्रिय सस्तोडिलले पनि बजारमा आक्रामक रुपमा आएको छ। विभिन्न कुपनकोडको प्रयोगमा उपभोक्तालाई छुट उपलब्ध गराएको सस्तोडिलले जनाएको छ।

कम्पनीका अनुसार विभिन्न कुपनकोड ८ सयदेखि २ हजार ५ सय रुपैयाँसम्मको छुट अफर ल्याएको छ।

जनैपूर्णिमालाई लक्षित गरेर एक हजारदेखि माथि किन्नेलाई ‘राखी’ (दिदीबहिनीले दाजुभाइलाई लगाइदिने एक किसिमको डोरो) उपहार दिइएको छ।

सस्तोडिलले भर्खरै मात्र बेलायतको एक कम्पनीबाट १ मिलियन डलर लगानी ल्याएको छ।

त्यस्तै, लकडाउनमा सुरु भएको ग्यापु मार्केटप्लेसले पनि चल्तीका अनलाइनसँग प्रतिस्पर्धा गर्ने उद्घोष गरेको छ। ग्यापु मार्केटप्लेसका सञ्चालक ज्ञानेन्द्र खड्काले एक वर्षको अवधिलाई लगानी वर्ष मानेर बजार विस्तार गरिरहेको बताए।

‘हामीले अनलाइन सपिङ सुरु गरेको सय दिन मात्र भएको छ’, खड्काले भने, ‘अहिलेसम्म राम्रो प्रतिक्रिया पाएका छौँ।’

अन्य अनलाइन सपिङमा भन्दा सस्तो दिइरहेको दाबी ज्ञानेन्द्रले गरे। उनका अनुसार अहिले विभिन्न अफरहरु पनि सञ्चालन भइरहेका छन्।

ग्यापुले चार कार्टुन बियर किन्दा एक कार्टुन वा चार बोतल किन्दा एक बोटल निःशुल्क उपलब्ध गराइरहेको छ। यो अफिरमा कार्ल्सबर्ग, टुबोर्ग, बाह्रसिंगे, गोर्खा, कोरोनालगायतका बियर रहेका छन्।

त्यस्तै, लकडाउनकै अवधिमा युजिबजार, एग्रिमुभजस्ता अनलाइन सपिङहरुले पनि राम्रो चर्चा कमाएका छन्।

अन्य साना अनलाइन सपिङहरुमा पनि थुप्रैले बजारमा उपस्थिति जनाएका छन्। खासगरी फेसबुकमा स्पोन्सर गरेर बजार खोज्ने इ–कमर्स कम्पनी थुप्रै देखिन थालेका छन्।

यसैबीच सरकार आफैँले पनि पहिलोपटक अनलाइन सपिङ सुरु गरेको छ। सरकारले लकडाउनको अवधिमा अनलाइनबाट सर्वसाधारणलाई खाद्यान्न बिक्री सुरु गरेको छ। सरकारले काठमाडांैं र कर्णाली क्षेत्रमा अनलाइन सपिङ सुरु गरेको जनाएको छ।

मुलुकमा अनलाइन सपिङ व्यवसाय फस्टाउँदै गएपछि इ–बिजनेससम्बन्धी नयाँ ऐन ल्याउने तयारी सरकारले गरिरहेको छ। अहिलेसम्म इ–बिजनेसको ऐन बन्नसकेको छैन। नयाँ बन्नलागेको ऐनले इ–कमर्सको बजार व्यवस्थापन र सुरक्षाको विषयलाई सम्बोधन गर्नेछ।

Top