भदौदेखि विदेशी पर्यटकलाई नेपाल खुला, ५ दिन क्वारेन्टाइनमा बसे पुग्ने, उडान अनुमति माग्दै विमान कम्पनी

विदेशी पर्यटकहरू नेपालले जारी गरेको स्वास्थ्य मापदण्डसहित भदौ १ देखि नेपाल भ्रमणमा आउन पाउने भएका छन् । सरकारको पाँच महिनापछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान खुला गर्ने निर्णयसँगै पर्यटन मन्त्रालय मापदण्ड बनाउन जुटेको हो । गृह मन्त्रालयले भिसाको विषयमा अझै राय नदिएकाले रोकिएको र मंगलबारसम्म यो विषय पनि टुंगिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।

पर्यटकलाई यसअघि बनाइएको १४ दिनको क्वारेन्टाइनको व्यवस्था घटाएर पाँच दिन बनाइएको छ । विदेशबाट आउँदा पिसिआरको रिपोर्ट ल्याउने र यता पनि परीक्षण गर्ने भएकाले पाँच दिन मात्रै क्वारेन्टाइनमा राख्न स्वास्थ्य मन्त्रालयले सहमति दिएको सहसचिव आचार्यले जानकारी दिए । यता गृह मन्त्रालयले अनअराइभल भिसाका सम्बन्धमा निर्णयका लागि सिसिएमसी पठाएको छ । अनअराइभल भिसा नदिने सरकारले यसअघि नै निर्णय गरेको छ । तर, अनअराइभल भिसा नदिए पर्यटक नआउने भएकाले हटाउनुपर्ने पर्यटनको राय छ । मापदण्डमा विदेशी पर्यटकले नेपाल आएपछि पिसिआर परीक्षणमा लाग्ने शुल्क आफैँ व्यहोर्नुपर्नेछ । यता होटेल, रेस्टुरेन्ट तथा अन्य क्षेत्रलाई समेत प्रोटोकल तय गरिसकेर १५ साउनदेखि तयारी थालिसकेका छन् ।

‘उडानका लागि धेरै माग आएकाले दैनिक १२ देखि १५ मात्रै उडान हुने गरी स्वीकृत गर्नेसमेत आचार्यले बताए । ‘मंगलबारसम्म एयरलाइन्सहरूको उडानतालिका तथा अन्य मापदण्डहरू स्वीकृत गरिनेछ,’ आचार्यले भने ।

अन्तर्राष्ट्रिय १२ एयरलाइन्सले सातामा १ सय ५८ उडान मागे
नेपाल नागरिक उड्डयन प्राधिकरणसँग १२ एयरलाइन्सले सोमबारसम्म १ सय ५८ उडानका लागि आवेदन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । ‘आवेदन आउनेक्रम जारी छ, सबैको आएपछि कसलाई कति दिने हेरेर अनुमति दिनेछौँ,’ क्षत्रीले भने । सबैभन्दा धेरै नेपाल वायुसेवा निगमले सातामा ५७ उडानका लागि आवेदन दिएको छ । जसमा दिल्लीमा दैनिक २ सहित सातामा १४, बैंग्लोर ३, मुम्बई ७, ग्वान्जाओ ३, कुवेत ७, दोहा ७, क्वालालम्पुर ७, नारित ३, बैंकक ३ र हङकङ ३ गरी ५७ उडानको अनुमति माग गरेको छ । त्यसैगरी, हिमालयले सातामा २१ उडानको अनुमति माग गरेको छ । टर्किसले सातामा १ मात्रै उडानका लागि आवेदन माग गरेको छ । सलाम एयरले ७, इन्डिगोले ७, चाइना साउदनले १, एयर चाइनाले १, जजिरा एयरले २, फ्लाई दुबई ७, मलेसियन एयरलाइन्स ५, मालिन्दो एयरले १४ र एयर अरेबियाले ३५ वटा माग गरेको छ ।

आन्तरिकतर्फ दैनिक ४८ उडान हुने
नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा आन्तरिकतर्फ ४८ उडान स्वीकृत गरेको जनाएको छ । विगतमा २ सयभन्दा बढी आन्तरिक उडान हुने गथ्र्यो । नियामक निकाय प्राधिकरणले सुगम क्षेत्र अर्थात् ट्रंक रुटमा ३९ उडान स्वीकृत गरेको छ भने दुर्गम क्षेत्रमा ९ वटा उडान स्वीकृति दिएको छ । प्राधिकरणले एक सातापछि पुनः उडानहरू थप्दै जाने योजना बनाएको छ । निजी वायुसेवा कम्पनीहरू ट्रंक रुटमा बुद्ध एयरले १८ वटा, यती एयरले ११ वटा, श्री एयरले ८ वटा र सिम्रिक एयरले २ वटा उडान गर्ने तय गरेका छन् । यस्तै, दुर्गम क्षेत्रमा तारा, सीता र समिट एयरले ३–३ वटा उडानको अनुमति पाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आन्तरिक टर्मिनल भवनले १ घन्टामा ४ सय ५० यात्रुको व्यवस्थापन गर्न सक्छ । विमानस्थलले अहिले त्यसको ५० प्रतिशत सेवा दिने तयारी गरेको छ ।

पर्यटकलाई १४ दिन क्वारेन्टाइन व्यावहारिक छैन : पर्यटन बोर्ड
नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने विषय व्यावहारिक नभएको भन्दै सच्याउन माग गरेको छ । बोर्डका प्रमुख कार्यकारी निर्देशक (सिइओ) धनञ्जय रेग्मीले तीनदेखि पाँच दिन राख्ने र पिसिआर परीक्षण गर्नुपर्ने बताए । ‘नेपाल आउने पर्यटक भनेको दुई सातादेखि तीन साताका लागि हो, दुई साता क्वारेन्टाइनमा राखेमा कोही पनि घुम्न आउँदैनन्,’ रेग्मीले भने ।

नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटकलाई सम्बन्धित जिल्लामा भ्रमणका लागि खुला गर्ने प्रस्ताव गरेको छ । बोर्डले शनिबारदेखि काठमाडौं उपत्यकासहित देशभर हाइकिङ, साइक्लिङ तथा अन्य गन्तव्यहरू खुलाएर सहज बनाउँदै जाने प्रस्ताव गरेको हो । पर्यटन क्षेत्रलाई गतिशील बनाउनका लागि आन्तरिक पर्यटनबाट सुरु गर्नुको विकल्प नभएको सिइओ रेग्मी बताउँछन् । स्वास्थ्य प्रोटोकल अपनाएर होटेल र रेस्टुरेन्ट सञ्चालनमा आइसकेकाले पनि आन्तरिक पर्यटक खुलाउँदै जान लागेको रेग्मीले बताए ।

विश्वका ४० प्रतिशत गन्तव्य खुले, युरोपका ४१ देशमा गतिविधि सुरु
कोभिड–१९ का कारण संसारभर बन्द रहेको पर्यटन क्षेत्र ४० प्रतिशत खुला भएको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय संगठन (युएनडब्लुटिओ)ले जनाएको छ । केही समयसम्म शतप्रतिशत बन्द रहेको पर्यटन गतिविधि संसारका ४० प्रतिशत देशले खुला गरेको युएनडब्लुटिओले जनाएको छ । संगठनका अनुसार अन्य देश तथा गन्तव्यहरू पनि खुलाउने तयारीमा रहेको जनाएको छ । गत जुलाई १९ सम्म २२ प्रतिशत गन्तव्य मात्रै खुला भएकोमा गत जुन ३० सम्ममा ४० प्रतिशत खुलेको संगठनले प्रतिवेदनमा उल्लेख गरेको छ ।

संगठनले गरेको अध्ययनअनुसार ८७ मुलुक (गन्तव्य)मा कुनै न कुनै रूपबाट अब विदेशी नागरिकले यात्राको अनुमति पाउने गरी खुला भएका छन् । त्यसमध्ये चारवटा मुलुक पूर्ण रूपमा खुला भएको घोषणा गरिएका छन् । ८३ मुलुकले भने सर्तसहित पर्यटक आवागमन खुला गरेका छन् । यात्रा प्रतिबन्ध हटाउने मुलुकमा अधिकांश युरोपका देश छन् । अन्य १ सय १५ देशमा भने अझै विदेशी नागरिकलाई प्रतिबन्ध कायम नै रहेको छ ।

स्वास्थ्यलाई ध्यानमा राख्दै यात्रामाथिको प्रतिबन्ध हट्दै जान थालेको युएनडब्लुटिओका महासचिव जुरब पोलोलिकासविल्लीले बताएका छन् । संगठनका अनुसार पर्यटनमा आधारित अर्थतन्त्र रहेका साना मुलुकहरूले क्रमशः यात्रा प्रतिबन्ध खुकुलो बनाएका छन् । युरोपका ४१ देशले पर्यटन गतिविधिलाई खुलाएका छन् । नेपाललले पनि भदौ १ देखि अन्तर्राष्ट्रिय सीमानाका खुलाउँदै उडानसमेत खुलाउने निर्णय गरेको छ । विश्वभर पर्यटन क्षेत्रले पाँच महिनायता ३ सय २० बिलियन डलर आम्दानी गुमाएको समेत संगठनले जनाएको छ ।

पर्यटन क्षेत्रबाट पाँच महिनामा ५० अर्ब गुम्यो
पर्यटन क्षेत्रले पाँच महिनामा ५० अर्ब आम्दानी गुमाएको अनुमान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले असारमा गरेको प्रक्षेपणअनुसार साउन पहिलो सातासम्म ४१ अर्ब गुमाउने अनुमान गरेको थियो । मन्त्रालयले आगामी सिजनसम्म ५० अर्ब गुम्ने अनुमानसमेत गरेको थियो ।

सरकारको बजेट तथा कार्यक्रममा पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरिएको थियो भने होटेलका लागि भ्याट दाखिला गर्ने समयसीमा चार महिना बढाइएको थियो ।

मन्त्रालयले लकडाउन सकिएपछिको एक महिना अवधिसम्म जहाज पार्किङ शुल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट, इजाजत तथा नवीकरण दस्तुरमा ५० प्रतिशत छुटका लागि सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषद्ले लागू गर्नेबारे निर्णय गरिसकेको छैन । तर, व्यवसायीले भने आगामी सिजनको अन्त्यसम्म पनि पर्यटक नआउने भएकाले डेढ खर्ब आम्दानी गुम्ने बताउँदै आएका छन् । नेपाल पर्यटन बोर्डले समेत कोभिड–१९ का कारण पर्यटन क्षेत्रले १ खर्ब ५० अर्ब गुमाउने प्रक्षेपण यसअघि नै गरिसकेको छ । होटेल, एयरलाइन्स, टुर एन्ड ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायत सम्पूर्ण क्षेत्र कोभिड–१९ का कारण पछिल्लो पाँच महिनायता ठप्प छ ।

Top