लहानको ग्लोबल आइएमइ बैङ्क सिल

सिरहा, साउन २४ गते । लहानस्थित ग्लोबल आइएमई बैङ्कको एक कर्मचारीको पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि स्थानीय प्रशासनले उक्त बैङ्क सिल गरेको छ ।

ग्लोबल आइएमइ बैङ्कका उक्त कर्मचारीलाई केही दिन अगाडि ज्वरो आएपछि उहाँ आफैं जनकपुर प्रादेशकि अस्पतालमा परिक्षणका लागि जानुभएको थियो । उक्त परिक्षणको प्रतिवेदन शनिवार पोजिटिभ आएपछि ती कर्मचारीलाई सोही अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

ग्लोबल आइएमइको लहान शाखाको कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि शनिवार ४ः३० बजे नै उक्त बैङ्क सिल गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक शरत थापा क्षेत्रीले जानकारी दिनुभयो । सँगैको कर्मचारीलाई संक्रमण देखिएपछि बैङ्कमा कार्यरत २२ जना कर्मचारी सबैलाई एकै स्थानमा क्वारेन्टाइनमा राखिएको लहान नगरपालिकाका स्वास्थ्य संयोजक रामसुन्दर यादवले बताउनुभयो ।
गम्भीर अपराधका पीडित बाहेक अन्यलाई प्रहरी कार्यालयमा निषेध

सिरहाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको लहान कोरोना संक्रमणको उच्च जोखिममा परेको कारण देखाउँदै लहान नगरपालिकाले शुक्रबार राति १२ः०० बजेदेखि वन्दावन्दी जारी गरेपछि इलाका प्रहरी कार्यालय लहानले सामान्य प्रकृतिका झैंझमेला हेर्न छोडेको छ ।

वन्दावन्दीलाई व्यवस्थित बनाउनुपर्ने र कोरोना संक्रमणका बीच अग्र पंक्तिमा रहेर काम गर्नुपर्ने भएका कारण कोरोनाको जोखिमलाई मध्यनजर गर्दै ‘माथिको आदेश’ बमोजिम यस्तो निर्णय गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रनाउ थापा क्षेत्रीले बताउनुभयो ।

‘गम्भीर प्रकृतिका अपराधसँग सम्बन्धित पीडितहरु आए उनीहरुका लागि प्रहरी कार्यालय जहिले पनि खुला रहन्छ तर खुद्रे र बनावटी मुद्दा लिएर आउनेहरुलाई भने रोक लगाएका छौं’, प्रनाउ थापाले भन्नुभयो–यहाँ वास्तविक घटना भन्दा पनि प्रहरीको अधिकारक्षेत्रमा नभएको साँध सँधियार र लेनदेनसँग जोडेर वनावटी घटना लिएर आउनेहरु बढी छन्, त्यस्तालाई यस्तो बेला निरुत्साहित गरिएको हो ।

Top