यातायात कार्यालयको सेवामा कटौती : बिलबुक र लाइसेन्स नवीकरण पनि जोरबिजोरको आधारमा

काठमाडौं । यातायात व्यवस्था कार्यालय बागमती प्रदेशले सोमबारदेखि जोरविजोर आधारमा नविकरण र इम्बोस्ड नम्बर जडान बाहेकका अन्य सबै सेवा बन्द गराएको छ ।

भोलिबाट बिलबुक र लाइसेन्स नवीकरणको काम जोरबिजोर प्रणालीअनुसार सेवा दिइने भएको छ । राजधानीका यातायात व्यवस्था कार्यालयले सूचना जारी गरी साउन १६ गतेबाट मोटरसाइकल नम्बर र लाइसेन्स नम्बरका आधारमा जोरबिजोर सेवा दिने भएका हुन् ।

जसअनुसार जोर नम्बर प्लेट वा लाइसेन्स नम्बर भएका सेवाग्राहीले जोर गते सेवा पाउनेछन् ।

एकान्तकुना स्थित सानाठूला सवारी र सवारी चालक अनुमतिपत्र हेर्ने दुई कार्यालयले यसबारे जानकारी दिएका छन् ।

सानाठूला सवारी कार्यालयले सवारी कर संकलन, बिलबुक नवीकरण र इम्बोस्ड नम्बर प्लेट जडान कार्य अर्को सूचना नआउञ्जेल यही सूचना अनुसार काम हुने जनाएको छ । यस्तै सवारी चालक अनुमतिपत्र कार्यालयले पनि लाइसेन्स नवीकरण कार्य जोरबिजोर आधारमै गर्ने जनाएको छ ।

यस्तै गुर्जुधारस्थित मोटरसाइकल कार्यालयले पनि कर नवीकरण तथा इम्बोस्ड नम्बर प्लेटको काम जोर बिजोर प्रणालीमा गर्ने जनाएको छ ।

वाग्मती प्रदेश सरकारले बिलबुक नविकरण, वार्षिक कर र इम्बोस्ड नम्बर प्लेटको राजस्व संकलन गर्ने काम जोर–बिजोर अनुसार गर्न भनेपछि यातायात कार्यालयले सोहीअनुसार सूचना निकालेका हुन् ।

Top