भारतमा रोजगारी गुमेपछि गुजारा मुस्किल

धनगढी, बझाङ — भारतको केरलामा दीपेन्द्र ऐडीका हजुरबुबाले चौकीदारी गरेका थिए । हजुरबुबा बितेपछि त्यही काम बुबाले सम्हाले । ६० वर्ष पुगेका बुबा थला परेपछि ड्युटी सम्हाल्न गत मंसिरमा दीपेन्द्र श्रीमती र छोरीसहित केरला गएका थिए । बझाङको बुंगल नगरपालिका–६ डिन्नुका ऐडीको तीन पुस्तादेखि भारतमा गर्दै आएको रोजगारी कोरोनाका कारण गुमेको छ । अहिले उनी परिवारसहित गाउँ फर्केका छन् ।

राति चौकीदारी र दिउँसो होटलमा काम गरेर मासिक सरदर १८ हजार भारु घर पठाउँथे उनी । त्यो पैसाले भाइको पढाइ, बुबालाई ओखती र घरका अन्य ६ जनाको गुजारा चलाउन जेनतेन पुगेको थियो । १२ कक्षा पढेपछि बुबाले गर्दै आएको चौकीदारी थाम्न भारत पुगेका उनी भाइको पढाइ सकिएपछि मात्र घर फर्कने सोचाइमा थिए । कोरोना कहरले रोजगारी गुमेपछि उनको योजना भताभुंग भएको छ । ‘अब जहान परिवार कसरी पाल्ने भन्ने चिन्ता छ । भाइलाई पढाउन त सम्भव नै छैन,’ उनले भने ‘महिनाको साढे तीन हजार शुल्क लाग्छ । डेरा भाडा र खाना गर्दा महिनामा आठ हजारजति पुग्छ । यत्रो पैसा कहाँबाट पुर्‍याउनु ?’
डोटीको पूर्वीचौकी गाउँपालिकाका तुलाराम बीसीको परिवार भारतको मुम्बईमा बस्न थालेको १२ वर्ष भएको थियो । कोरोना कहरसँगै उनको पनि चौकीदारीको रोजगारी गुम्यो । दुई महिनाअघि उनी परिवारसहित स्वदेश फर्केका हुन् । छोराछोरीको पढाइ अलपत्र परेको र अर्कोतिर आम्दानीको स्रोत नहुँदा रनभुल्ल परेको उनले बताए ।

अछामको साँफेबगर नगरपालिका–१३ बाब्ला घर भएका कृष्ण साउँ श्रीमतीसहित पाँच वर्षदेखि दिल्लीको साकेतमा चौकीदारी काम गर्थे । राति चौकीदारीबाहेक बिहान गाडी सफा गरेर अतिरिक्त कमाइ गर्दै आएका थिए । दुवै कामबाट मासिक २० हजार रुपैयाँ कमाइ हुन्थ्यो । उनी रोजगारी गुमाएर गत असारमा घर फर्केका छन् । ‘फर्केपछि त हातमुख जोर्नै आपत् हुन थालेको छ,’ उनले भने ।

बाजुराको सिंगाडा घर भएका पुरन बुढा १५ वर्षदेखि दिल्लीको साहदरामा होटलमा कुकको काम गर्थे । कमाइ मासिक १५ हजार भारु थियो । मासिक १० हजार घरमा पठाउँथे । लकडाउनमा फसेर खान बस्न समस्या भयो । केही उपाय नलागेपछि आफन्तबाट सापटी गरेर घर आए । ‘इन्डियाको रोजगारी छाडेर आइयो । आठ जनाको परिवार अब कसरी पालुँ भन्ने समस्याले पिरोलेको छ,’ उनले भने, ‘खानै नपाएर मरिन्छ जस्तो छ ।’

लामो समय रोजगारीका लागि भारत पसेकाहरूले घर फिरेर स्थानीयस्तरमा रोजगारीका अवसर देखेका छैनन् । न आफ्नो जग्गा, जमिन छ न त कृषि कर्म गर्ने बानी नै छ । गुजाराको मेलो पहिल्याउन नसकेकाहरू गाउँबस्तीमा टोलाएर बसेका भेटिन्छन् ।

मजदुरी छुट्दा जहान भोकै
बाजुराको साप्पाटा मुक्तिकोटका राजे विक गत वर्षको मंसिरमा गढवाल गएका थिए । त्यहाँ ढुंगा फुटाउने र बोक्ने काम गर्थे । उनीलगायत १७ जनाको रोजगारी गुम्यो । ‘लामो समय लकडाउनमा फसेपछि वैशाखमा गाउँ पुगें । १० दिन क्वारेन्टाइनमा बसेर घर पुग्दा जहान, बालबच्चाको बिचल्ली थियो । घरमा खानेकुरा थिएन । किनेर ल्याउन पैसा पनि थिएन,’ उनले भने ।

बझाङकै थलारा गाउँपालिकामा मात्रै लकडाउन सुरु भएयता तीन हजार जनाभन्दा बढी भारतबाट घर फर्किसकेका छन् । प्रदेश सरकारको चालु वर्षको नीति तथा कार्यक्रममा रोजगार गुमाएकालाई कृषि कार्य गर्न बिनाधितो कर्जा उपलब्ध गराउने योजना राखेको थियो । तर त्यसका लागि बजेटमा ठोस आधार नभएको प्रदेशसभा सदस्य पूर्णा जोशीले बताइन् ।

सुदूरपश्चिम कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीका अनुसार सुदूरपश्चिमका ९ मध्ये ५ जिल्ला बाजुरा, बझाङ, दार्चुला, अछाम र बैतडी बर्सेनि खाद्यान्न अभाव हुने जिल्ला हुन् । समग्रमा सुदूरपश्चिमलाई आवश्यक खाद्यान्न ५ लाख ५० हजार ३ सय ७२ मे.टन हो भने उत्पादन ६ लाख ९७ हजार १ सय ५ मे. टन रहेको निर्देशनालयको तथ्यांक छ । ‘कैलाली र कञ्चलनपुरबाहेक अरू जिल्लालाई आन्तरिक उत्पादनले पुग्दैन,’ उनले भने ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले दुई वर्षअघि गरेको अध्ययनले रोजगारीका लागि भारतमा ६ महिनाभन्दा बढी समयका लागि जानेको संख्या बर्सेनि २ लाख ६ हजार रहेको देखाएको थियो । मुम्बईमा काम गर्दै आएका सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष भुवनप्रसाद भट्ट भारतका विभिन्न सहरमा १० लाखको हाराहारीमा सुदूरपश्चिमेलीहरू कार्यरत रहेको बताउँछन् ।

तीमध्ये तीन लाख हाराहारी रोजगारी गुमेपछि अहिले स्वदेश फर्किएको उनको भनाइ छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कोरोना कहर सुरु भएयता असारसम्ममा फर्किएका सुदूरपश्चिमेलीको संख्या २ लाख ३७ हजार ४ सय ९० जना छ ।

Top