महत्वपूर्ण विभागलाई एकै ठाउँमा नराख्‍न बैंकहरूलाई संघको आग्रह

काठमाडौं । कोभिड १९ को प्रभाव बढ्दै गएपछि बैंकहरुले बैंकिङ सेवाको मोडालीटी परिवर्तन गर्ने भएको छन् । नेपाल बैंकर्स संघले सोमबार सम्पुर्ण वाणिज्य बैंकहरुलाई अत्यावश्यक बैंकिङ सेवा प्रभावित नहुने र बैंकका कर्मचारीलाई कोरोना जोखिम नहुने गरी सेवा दिलाउन सुझाव दिएको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आलोपालो गरी कर्मचारी बोलाउने तथा कर्मचारीलाई सकेसम्म घरबाटै काम गर्ने ‘वर्क फ्रर्म होम’ को व्यवस्था गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनसँगै वाणिज्य बैंकहरुको छाता संगठन संघले सबै बैंकहरुलाई थोरै भन्दा थोरै कर्मचारीबाट सेवा उपलबध गराउने आग्रह गरेको हो ।

“कोभिड १९ को प्रभाव बढ्दै जाँदा अत्यावश्यक बैंकिङ सेवालाई निरन्तरता दिने गरी थोरै भन्दा थोरै कर्मचारीबाट बैंकिङ सेवा प्रवाह गर्न हामीले सुझाव दिएका छौं,” बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, “नजिकै एकभन्दा बढी शाखा छ भने त्यस्तो ठाउँमा आलोपालो सेवा प्रदान गर्न भनेका छौं, यदि त्यसरी सेवा प्रदान गर्दा धेरै भिडभाड हुने अवस्था आएमा सबै शाखाबाट सेवा प्रदान गर्न भनेका छौं ।”

बैंकर्स संघ नियामक निकाय नभएको र यसले सदस्य बैंकहरुलाई सुझाव मात्रै दिने निरिक्षण र निर्देशन भने दिन नसक्ने अध्यक्ष दाहालको भनाई छ ।

संघले बैंकहरूलाई अत्यावश्यक विभागहरुको काम दुइतिर विभाजन गरेर छुट्टाछ्टै संञ्चालन गर्न समेत आग्रह गरेको छ ।

“बैंकका अत्यावश्यक आइटी, ट्रेजरीलगायतका महत्वपुर्ण विभागहरुलाई दुई ठाउँबाट सञ्चालन गर्न भनेका छौ, जसले गर्दा एकठाउँमा संक्रमण फैलिएर सिल गर्नुपर्ने अवस्था आएमा अर्को ठाउँबाट सेवा सुचारु गर्न सकियोस,”अध्यक्ष दाहालले भने, “स्वीफ्ट बाहेकको अन्य विभागको काम दुई ठाउँबाट गर्न सकिन्छ तर स्वीफ्ट भने अर्को ठाउँबाट सञ्चालन गर्नुपर्ने त्यसमा त्यसको सम्पुर्ण पुर्वाधार नै सानुपर्ने हुन्छ त्यसैले त्यसलाई भने दुई ठाउँबाट सञ्चालन गर्न सकिदैन ।”

सानिमा बैंकले करिब २ महिना अगाडीबाट नै अत्यावश्यक विभागहरुको काम दुईतिरबाट सञ्चालन गरिरहेको उनको भनाई छ । संघको उद्देश्य बैंकका कर्मचारीलाई सुरक्षीत राखेर बैंकिङ सेवा प्रदान गर्नु रहेको उनको भनाई छ ।

“हामीले वित्तीय सेवा प्रदानको लागि लकडाउन अगाडीको मोडालीटी नै अपनाउन खोजेका हौं, राष्ट्र बैंकले सेवा प्रवाहमा सतर्कता अपनाउन र कर्मचारीलाई आलोपालो प्रणाली अवलम्बन गर्न भनेको छ,” उनले भने, “संघले आवश्यकता अनुसार बैंकिङ समय पनि घटाएर ३ बजेसम्म कायम गर्न सुझाव दिएको छौं,” उनले भने । यदि भिडभाड हुने अवस्था भएमा नियमति अनुसारकै सेवा प्रदान गर्न पनि सकिने उनले बताए ।

संघको प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा पनि सबै बैंकलाई बैंकिङ सेवा प्रभाहमा सतर्कता अपनाउन सुझाव दिएको बताउँछन् ।

“हामीले आजै सबैं बैंकलाई सुझाव पठाएका छौं, लकडाउनकै समयको मोडालीटीमा वित्तीय सेवा प्रदान गर्ने गरि सुझाव पठाएका हौं” उनले भने, “संक्रमण बढ्दै गएको अवस्थामा वित्तीय सेवा बन्द हुने अवस्थ नआओस भन्ने उदेश्यले गर्न किने सबै उपाय अपनाउने गरी सुझाव पठाएको छौ।”

कर्मचारीलाई समुहमा विभाजन गरी आलोपालो बोलाउँदा एउटा समुहमा रहेको कर्मचारीमा संक्रमण देखिएमा सोही विभागमा रहेक अर्को कर्मचारीले उक्त विभागको काम गर्न सक्ने भएकोले बैंकलाई विजनेश कन्टीन्युटी प्लान सहित अगाडी बढ्न संघले सुझाव पठाएको छ । कतिपय बैंकले उक्त व्यवस्था यसअघि देखिनै कार्यान्वयनमा ल्याईसकेका छन् ।

Top