कोरोना ‘हटस्पट’ बन्यो विराटनगरको गुद्री बजार

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दो छ । सोमबार ९ जना संक्रमित थपिएका छन् । अब संक्रमितको संख्या २ सय ९० पुगेको छ । कोरोनाका कारण विराटनगरमा चार जनाले ज्यान गुमाएका छन् ।

विराटनगरको गुद्री बजार संक्रमित र संक्रमण विस्तारको दृष्टिले ‘हटस्पट’ बनेको छ । सब्जीमन्डी र किनमेलको लागि प्रख्यात यो बजारलाई आइतबार रातिदेखि भने पूर्णत सिल गर्दै आउजाउमा रोक लगाइएको छ भने पसलहरु बन्द छन् ।

गुद्रीका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । सोमबार थपिएका ९ मध्ये ५ जना संक्रमित यही क्षेत्रका हुन् ।

गुद्री बजार क्षेत्र समेटिएको विराटनगर ९ मा संक्रमितको संख्या ४७ पुगेको छ । विराटनगर–९ वडाअध्यक्ष विश्वनाथ भगत भन्छन्,“कोरोना फैलावट र संक्रमणको दृष्टिले हटस्पट बनेकोले यो बजारलाई पूर्णत सिल गरिएको छ ।” प्रशासनले ७२ घण्टासम्मको लागि सिल गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली समुदायस्तरमा कोरोना फैलिएकोले महानगर एक्लैले संक्रमण नियन्त्रण गर्न नसक्ने बताउँछन् । उनी भन्छन्,“पहिलो तेस्रो देश र भारतबाट आएका मानिसहरुको पहिचान थियो । अहिले समुदायस्तरमै कोरोना संक्रमण फैलिएकोले लक्ष्यण नभएका समेत धेरै भएकोले कसमा छ र कसलाई छैन भन्ने बुझ्न कठिन छ । हामीले परीक्षणको दरलाई बढाएर वडा वडामा संक्रमित पहिचान गर्ने क्रमलाई तिव्रता दिएका छौं ।”

महानगरले संक्रमितलाई राख्न विराटनगर १९ को स्वास्थ्य चौकीमा आफ्नै आईसोलेसनसमेत संचालन गरेको छ ।

प्रदेश १ मा सोमबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका एक एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट सोमबार ९९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई जना डिस्चार्ज भएका हुन् ।

Top