‘हटस्पट’ भानु नगरपालिका १ : लुकाएर श्रमिक प्रवेश गराउँदा समुदायमा पुग्यो कोरोना

काठमाडौं–तनहुँको भानु नगरपालिका १ को भन्सार क्षेत्रमा अहिले कोरोना त्रास फैलिएको छ। उक्त वडाका अध्यक्ष प्रेमबहादुर लामा बिहीबारदेखि तनावमा छन्।

शून्य संक्रमित रहेको तनहुँको भानु नगरपालिका १ मा बिहीबार एक्कासी २० जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनको तनाव बढेको हो। भन्सार क्षेत्रमा विदेश र अन्यत्रबाट मानिस आएको जानकारी वडालाई नभएको अवस्थामा कसरी संक्रमण भयो र यो समुदायमा पुग्यो भनेर उनको चिन्ता बढेको छ।

स्थानीय निर्माण व्यवसायीको परिवारका तीन जनामा मंगलबार संक्रमण देखिएपछि उनीसँगको सम्पर्कका आधारमा पहिचान भएका एक सय २२ जनाको पिसीआर परीक्षण गरिएको थियो। जसको पछिल्लो नतिजाले उनको घर तथा छिमेकका २० जनामा संक्रमण देखाएको वडाध्यक्ष लामाले बताए।

एक सय २२ मध्ये केहीको परीक्षण नतिजा आउने क्रममा नै रहेको उनले बताए। ‘अहिलेसम्म ८९ जनाको परीक्षणमा २० मा पोजिटिभ देखिएको जानकारी पाएका छौं,’ उनले भने।

संक्रमितहरुमा सबै भानु-१ भन्सार क्षेत्रका छन्।

‘यसअघि संक्रमण देखिएका व्यक्तिकै छिमेक र आसपासमा संक्रमण देखिएकाले अवस्था जटिल भएको देख्छु’ वडाध्यक्ष लामाले भने ‘अब समुदायका कन्ट्याक्ट ट्रेसिङ गर्दै सबैको गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’

संक्रमित २० जना देखिएको भन्सार क्षेत्रका मोटरसाइकल वर्कसप, प्रहरी र मासु पसलका व्यक्ति पनि संक्रमित पाइएका वडाध्यक्ष लामाले बताए। लकडाउन अवधिमा पनि यतै रहेका सई र प्रहरी जवानमा समेत कोरोना पुष्टि भएपछि समुदायमा गएको हो कि भन्ने डर लागेको उनले बताए।

त्यस्तै ‘धेरै मानिस आउने वर्कसप र मासु पसलका व्यक्तिमा नै संक्रमण देखिएकाले यसले अझ धेरैमा संक्रमण फैलिएको देखाउँछ,’ उनले भने,‘समुदाय संक्रमणको जटिल अवस्थामा पुगेको हुनसक्छ ।’ उक्त वडामा यसअघि एक जना संक्रमित थिए। उनीहरुको र नयाँ देखापरेका बीचमा कुनै सम्र्पक नभएको उनले बताए। ‘विदेशबाट आएका एक जनामा देखिएको थियो ’ लामाले भने, ‘उनी क्वारेन्टाइन र उपचारपछि निको भएर फर्केका थिए। ’

Top