कर्फ्यु र निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीले जिल्लामा वा जिल्लाका कुनै स्थानमा निषेधाज्ञा जारी गरेको अवस्थामा सम्बन्धित क्षेत्रका सरकारी र सार्वजनिक कार्यालयका निश्चित कर्मचारीलाई कार्यालयमा उपस्थित गराउने र अन्य कर्मचारीलाई ‘वर्क फ्रम होम’ को व्यवस्थापन सम्बन्धित कार्यालय प्रमुखले गर्नुपर्ने पनि निर्णय भएको प्रवक्ता खतिवडाले बताए ।

सरकारले जारी गरेको निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डहरू पालना गर्न सबैलाई आग्रह गर्दै पालना नगरेको खण्डमा कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

राजदुत नियुक्त :
मन्त्रिपरिषदले बेल्जियम र युरोपियन युनियन, पाकिस्तान र जर्मनीका लागि तीन जना राजदूतको नियुक्ती गरेको प्रवक्ता खतिवडाले जानकारी दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा बेल्जियम र युरोपियन युनियनका लागि गहेन्द्रराज भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई नियुक्त गरिएको हो ।

बाढीपहिरोमा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग
त्यस्तै सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवारलाई एक जनाको मृत्यु भएको भए दुई लाख र एकै परिवारमा एकभन्दा बढीको मृत्यु भए प्रतिव्यक्ति थप एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै बाढीपहिरोमा परेका घाइतेको नि:शुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिएका छन् ।

Top