निषेधाज्ञाको समयमा खाद्यान्नसहितका पसल बिहान ७ बजेसम्म मात्रै खुल्ने

काठमाण्डौ – निषेधाज्ञाको समयमा खाद्यान्नसहितका पसल बिहान ७ बजेसम्म मात्रै खुल्न पाउने भएका छन् ।

खाद्यवस्तुु, तरकारी, फलफुल, दूधका पसल तथा व्यवसाय बिहान ७ बजेसम्म मात्रै खोल्न पाइने भएको हो । अत्यावश्यक सेवाभित्रै पर्ने भए पनि खाद्यान्नका पसल, तरकारी, फलफुल तथा दूध डेरी दिनैभरि खुलाउँदा भिडभाड बढ्ने र कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले बिहान ७ बजेसम्म मात्रै खुलाउन भनिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

यसअघि हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको सूचनामा निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन गर्न पाइने उल्लेख छ ।

त्यस्तै मासुजन्य पदार्थ, दाना र भेटेरिनरी, बैंक, बीमा, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ लगायतका सेवा पनि सञ्चालन हुने भनिएको छ । बैंकिङ सेवाका लागि सकेसम्म भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन र सम्भव नभएमा न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एटीएम बुथमा पर्याप्त नगद राख्न र ग्राहकलाई विद्युतीय कारोबारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । यस्तै अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टीलगायतका कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।

खुल्ने शाखाको विवरण तथा सम्बन्धित व्यक्तिको नाम वेबसाइटमा राख्न र शाखाको मूल ढोकामा खुल्ने वैकल्पिक शाखाको विवरण टाँस गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा गए रातिदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा लागू भएको छ ।

Top