श्रम स्वीकृति लिएका ४ हजार विदेश जान पाएनन्

कोरोना संकटअघि बिदामा नेपाल आएर पुनः श्रम स्वीकृति लिएकामध्ये ४ हजारभन्दा बढी युवा अझैँ विदेश जान पाएका छैनन् । सरकारले विदामा आएका श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गरे पनि श्रम गन्तव्य मुलुकसँग कूटनीतिक पहल नगर्दा विदेश जान नपाएका हुन् ।
हालसम्म ५ हजार ५ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएको भए पनि युएई र जापानबाहेक अन्य देश जाने ४ हजार भन्दा बढी युवा जान पाएका छैनन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अन्तरर्राष्ट्रिय उडान सुरु नभएका कारण श्रम स्वीकृति लिएका नेपाली विदेश जान नपाएको बताए । “श्रम स्वीकृति लिएकामध्ये यूएईलगायत केही देशमा भने नेपाली गएका छन्,” प्रवक्ता घिमिरेले भने, “अन्य देश जाने श्रमिकको हकमा भने कसरी पठाउने भन्नेबारे कुटनीतिक पहल गरिने बताए ।”

नेपालमा कोरोना संक्रमण बढ्दै गएका कारण श्रम स्वीकृति लिएर बसेका नेपाली तत्काल जान सक्ने अवस्था देखिँदैन । सरकारले विदेशबाट बिदामा फर्कने श्रमिकलाई प्रोत्सहान गर्न पुनः श्रम स्वीकृति खुला गरेको भए पनि कोरोना संक्रमण अन्त्य हुन नसकेका कारण वैदेशिक रोजगारीमा जाने प्रक्रिया सहज हुन सकेको छैन । कतिपय श्रम गन्तव्यले विदेशी श्रमिकका लागि कडा स्वास्थ्य मापदण्ड निर्धारण गरेका कारण पनि बिदामा आएर श्रम स्वीकृति लिएपनि विदेश जान सकेका छैनन् ।

सरकारले विगत ४ महिनादेखि रोकिएको श्रम स्वीकृति १८ असारबाट खुला गरेपनि कतिपय देशका हवाई सेवा सुचारु नभएका कारण विदेश जाने यकिन हुन नसकेको हो । वैदेशिक रोजगार विभाग ताहचल कार्यालयले श्रम स्वीकृतिको काम सुचारु भएपनि श्रमिक विदेश जाने बिषयमा जानकारी नभएको जनाएको छ । श्रम स्वीकृति लिएपछि विदेश जाने अपेक्षा सहित काठमाडौ आएका युवा भने उडान तालिका र गन्तव्य मुलुकसँग सरकारले गर्ने पहलको प्रतिक्षामा रहेका छन ।
नेपाल सरकारले श्रम स्वीकृति खुला गरेपनि कतिपय श्रम गन्तव्य देशले विदेशी नागरिकको आगमनमा रोक लगाएका कारण नेपालबाट तत्कालै युवा विदेश जाने अवस्था भने छैन । मगलबारसम्म ५ हजार ५ सय ६२ युवाले श्रम स्वीकृति लिएपनि जापान र यूएईबाहेक अन्य देशका युवा भने रोजगारीका लागि फर्कन पाएका छैनन । पूर्व श्रम स्वीकृति लिनेमध्ये आधा भन्दा बढी मलेसिया, कतार, साउदी अरब र कतार लगायतका गन्तव्यमा जाने रहेका छन् । श्रम स्वीकृति लिने मध्ये सबै भन्दा बढी युएइ १ हजार ८८९, कतार ४४६, मलेसिया ३४९ र बाकी अन्य देशमा रहेको वैदेशिक रोजगार विभाग ताहचलले जनाएको छ । प्रदेश स्तरमा ६ र काठमाडौ १ गरी देशभरका ७ कार्यलयबाट दैनिक १ हजार ५०० लाई श्रम स्वीकृति दिन सक्ने क्षमता रहेको भएपनि संकटका कारण सेवा लिने यूवाको संख्या न्यून रहेको छ । सरकारले पछिल्लो पटक अन्तराष्ट्रिय उडान साउन १५ गतेसम्म बन्द गर्न थप निर्णय गरेको छ ।

जानेभन्दा फर्कने बढी
लकडाउनका कारण श्रम गन्तव्य तथा अन्य देशमा अलपत्र परी नेपाल फर्कने ५० हजारभन्दा बढी रहे पनि विदेश जाने भने न्यून संख्या रहेको छ । कोरोना संकटका बेला लगभग २ हजार नेपालीमात्र चार्टर उडानमार्पmत विदेश गएका छन । नेपाल भित्रने रेमिट्यान्समा असर पर्ने जनाउँदै सरकारले संकटकै बेला श्रम स्वीकृति खुला गरेको हो । हालसम्म ५० हजार नेपाली स्वदेश फर्किए पनि यो संख्या २ लाखभन्दा बढी हुने सरकारी अनुमान रहेको छ ।

Top