२३५ नेपाली एयरपोर्टमै छोडेर मंगलबार दुबईबाट रित्तै फर्किएको नेवानिको उडान पुनः आइतबार हुँदै

काठमाडौं। मंगलबार स्थगित भएको नेपाल वायुसेवा निगम (नेवानी) को काठमाडौं-दुबई-काठमाडौं उडान आउँदो आइतबार हुने भएको छ।
क्वारेन्टिन व्यवस्थापन गर्न नसकिएको भन्दै सरकारले उद्धार उडानमा एक्कासी प्रतिबन्ध लगाएपछि निगमले मंगलबार तय भएको उक्त उडान रद्द गर्नुपरेको थियो ।

मंगलबार दुई सय ३५ जना नेपाली लिन दुबई पुगेको गएको निगमको जहाज सरकारको निर्णयका कारण खालि फर्किएको थियो।

पुनः आइतबारलाई तय भएको सो उडानबाट दुबईमा अलपत्र दुई सय ३५ जनालाई नेपाल ल्याउनका लागि निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्विकृती लिएको छ। यात्रुसँगै १५ टन कार्गो पनि ल्याउने अनुमति शुक्रबार पाएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

मंगलवारबाट आइतवारलाई सरेको उडानमा दुबईबाट नेपाल (काठमाडौं) फर्कनका लागि यात्रुहरुले टिकट समेत काटिसकेका छन् । नेपाल आउन उनीहरुले ७२ घन्टा अगाडिसम्मको पीसीआर परिक्षण रिपोर्ट पनि देखाउनु पर्नेछ । यसका लागि कोभिड-१९ को पीसीआर परिक्षण रिपोर्ट तयार गर्न टिकट काटेका यात्रुहरुलाई निगमले पत्राचार समेत गरिसकेको खड्काले बताइन् ।

यो उद्धार उडानका लागि निगमको वाइडबडी जहाज आइतबार बिहान ७:३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट युएईको दुबई उड्नेछ । सोही दिन साँझ ६:१५ मा यात्रु लिएर दुबईबाट काठमाडौं आइपुग्ने तालिका तय भएको बताइएको छ ।

गत मंगलबार उद्धार उडान रोकिँदा अलपत्र भएका यात्रु असुविधालाई मनन गरेर निगमलाई शुक्रबार पुनः उद्धार उडानको स्विकृति दिएको मन्त्रालयका सचीव केदार बहादुर अधिकारीले बताए । तीन दिनअघिदेखि बन्द गरिएको उद्धार उडान सुचारु गर्नका लागि मन्त्रालयले प्रस्ताव पेश गरेको जनाएको छ।

‘उद्धार उडान खुला हुने निश्चित छ। कतिपय गन्तव्यमा नियमित उडान सुचारुका लागि गृहकार्य भइरहेको छ। आज बस्न लागेएको मन्त्रीपरिषदको छलफलबाट आउने निर्णयको प्रतिक्षामा छौं,’ सचिव अधिकारीले भने।

Top