जापानको व्यस्त नारिता एयरपोर्टको बीचमा खेतीबारी गर्ने किसान – ताकाओ शितो

नारिता जस्तो व्यस्त विमानस्थलको बीचमा बस्नु सामान्य कुरा होइन । निरन्तर जस्तो प्लेनहरू उड्ने र अवतरण गर्दाको आवाजका साथै जोखिम पनि उत्तिकै रहन सक्छ । तर यी समस्यालाई सामान्य रुपमा लिदैं वर्षौ देखि एक जापानी किसान भने नारिता अन्तर्राष्ट्रिय एयरपोर्ट परिसर भित्र बसोबास गर्दै आइरहेका छन् ।
ताकाओ शितो नाम गरेका जापानी नागरिक नारिता विमानस्थल परिसर भित्रै रहेको आफ्नो खेतबारीमा अर्गानिक साग सब्जी उब्जाउछन् ।
शताब्दीयौं देखि कृषिमा सक्रिय सो स्थानमा सन् १९६० अन्त्य तिर नारिता विमानस्थल निर्माण सुरू हुँदा स्थानीय किसानहरूले आन्दोलन नै गरेका थिए । जापान सरकार र त्यस क्षेत्रका कृषि समुदाय बीच भएको सो नागरिक द्वन्द्वलाई जापानमा सानरीज्युका तोसो Sanrizuka Struggle (三里塚闘争) भनिएको छ। स्थानीय बासिन्दाहरूको सहभागिता वा सहमति बिना एयरपोर्ट निर्माण गर्ने सरकारको निर्णयबाट यस संघर्ष सुरु भएको थियो ।
बिस्तारै सरकारले किसानहरूलाई उनीहरूको जग्गाको सट्टामा आर्थिक क्षतिपूर्ति प्रदान गर्‍यो । यद्यपि शितोका बाबु र केहि स्थानीय भने आफ्नो सो स्थान छोड्न तयार थिएनन् ।

जापानी कानून अनुसार कसैलाई पनि सम्पत्ति बेच्न बाध्य पार्न निषेध भएको कारणले सरकारले शितोका बाबु लगायत अन्य स्थानीयलाई हटाउन सकेको थिएन । फलस्वरूप एयरपोर्टले रनवेमा जानको लागि आफ्नो मार्ग शितोको जग्गाको वरिपरि सर्कल बनाउनु परेको थियो।

माटोको महत्त्व बुझेको बताउँदै शितोले आफ्नो बुबा बितेपछि जागिर छोडेर बुबाको खेतीबारी सुरक्षा गर्न फर्केको बताए।
शितोलाइ पनि फार्म छोड्ने शर्तमा १८० मिलियन येन दिने प्रस्ताव आएको तर आफ्नो पूर्वजहरूले त्यहाँ सयौं वर्ष देखि खेतीबारी गरेको र उनले पनि खेती गर्न जारी राख्ने उनको भनाई छ।
पैसा भन्दा पनि उनको अर्गानिक उत्पादनबाट सन्तुष्ट ग्राहकहरूले उनलाई आनन्द दिएको उनी बताउछन् ।

Top