रेमिट कम्पनीलाई पनि सीमित सेवा दिन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले रेमिट कम्पनीहरूलाई पनि निषेधाज्ञाको अवधिमा सीमित सेवा प्रदान गर्न निर्देशन दिएको छ । रेमिट्यान्सका भरमा जीविका चलाउने सर्वसाधारणलाई समस्याहुन सक्ने भन्दै केन्द्रीय बैंकले रेमिट कम्पनीलाई सेवा दिन भनेको हो ।
निषेधाज्ञाका कारण सेवा नै बन्द गराएका रेमिट कम्पनीलाई केन्द्रीय बैंकले निर्देशनमार्फत स्थानीय सरकारसँग समन्वय गरेर विप्रेषण भुक्तानी सेवा दिन भनेको छ ।

केन्द्रीय बैंकको निर्देशनअनुसार स्थानीय सरकारले निषेधाज्ञा जारी गरे पनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण अबलम्बन गरी रेमिट्यान्स भुक्तानीको सेवा दिनुपर्ने भएको हो । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण काठमाडौं उपत्यकालगायत मुलुकका सबैजसो स्थानमा निरन्तर रूपमा बढिरहेकाले रोकथाम तथा नियन्त्रणका लागि उपत्यकालगायत विभिन्न स्थानीय प्रशासनबाट निषेधाज्ञा लगायतका विषेशआदेश जारी गरेका छन् ।
केन्द्रीय बैंकले सीमित कर्मचारीमार्फत विप्रेषण सेवा सुचारु राख्न भनेको हो ।

निर्देशनअुनसार विप्रेषण कम्पनीहरूले विदेशमा कार्यरत नेपाली नागरिकहरूले नेपाल पठाएको विप्रेषण उनीहरूका आफन्तलाई भुक्तानी गर्न नसक्दा दैनिक जीवनमा नै प्रभाव पर्ने भएकाले रेमिट्यान्स सेवा पनि सुचारु राख्न भनिएको हो ।
“विप्रेषणबाट घरव्यवहार चलाउनु पर्ने नागरिकहरूका लागि अप्ठ्यारो पर्न सक्ने भएकाले स्थानीय प्रशासनको निषेधाज्ञा लगायतका आदेश परिपालना गरी रेमिट कम्पनीले सेवा प्रदान गर्नुपर्नेछ,” निर्देशिका भनिएको छ, “स्वस्थ्य सुरक्षासँग सम्बन्धित सबै मापदण्डभित्र रही सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाइ न्यूनतम कर्मचारीबाट विप्रेषण भुक्तानीको सेवा प्रदान गर्नुपर्नेछ ।”
निर्देशनअनुसार रेमिट कम्पनीले बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी रेमिट्यान्स फण्ड ट्रान्सफर तथा विदेशीमुद्रा सहटी गर्ने र सम्भव भएसम्म विप्रेषण भुक्तानी बैंकमार्फत हुने व्यवस्था मिलाउन पर्नेछ । रेमिट कम्पनीअन्तर्गतका निकायहरूलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी भीडभाड नगर्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ ।

Top