विदेश पढन् जानेका लागि एनओसी खुल्ला

काठमाडौं : गत फागुनदेखि रोकिएको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) खुल्ला भएको छ। कोभिड १९ को संक्रमण त्रास बढेको भन्दै सरकारले एनओसी रोक्ने निर्णय गरेको थियो।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई एनओसी अनिवार्य मानिन्छ। एनओसी रोकिंदा नेपालमै बसेर अनलाइन पढ्न चाहने तथा विदेशमा भिसाको म्याद थप्न खोज्ने विद्यार्थीलाई समस्या परेको थियो। हिजो बसेको मन्त्रिपरिषदको बैठकले खुल्ला गरेको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले बताए।

एनओसी खुल्ला गरिएपछि विद्यार्थीले तत्काल विदेश जान नपाए पनि भर्नाका लागि सिट सुरक्षित गर्न सक्छन्। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेका अनुसार छात्रवृत्ति कोटा सुरक्षित गर्न सक्छन्। कलेज तथा विविमा शुल्क तिर्न पाउँछन्। एनओसी जारी नहुँदा विदेश जाने प्रक्रियामा रहेका विद्यार्थी समस्यामा परेका थिए।

अवस्था सामान्य भएको अवस्थामा दैनिक एक हजारको हाराहारीमा विद्यार्थीले एनओसी लिने गरेका थिए।

Top