नेपालीलाई विदेशबाट आउने न्यूनतम रु.११ हजार तिर्नैपर्ने, होटल क्वारेन्टिनमा राख्न ४७ सय कोठा तयार,

सरकारले ९ भदौ देखि शुरु गरेको उद्धार उडानबाट आउने नेपाली यात्रुलाई क्वारेन्टिनमा राख्न काठमाडौैंका १५८ वटा होटलका ४७०२ वटा कोठा तयार पारेको छ।

उद्धार उडानबाट कोरोना परीक्षण नगरी आएका र पीसीआर परीक्षण रिपोर्ट ७२ घण्टा भित्रको नल्याएका सबै यात्रुले अनिवार्य एक साता होटल क्वारेन्टिमा बस्नुपर्ने निर्णय यसअघि नै सरकारले गरेको थियो। सोही निर्णय अनुसार, पर्यटक स्तरदेखि पाँच तारेसम्मका होटल क्वारेन्टिनका लागि तयार पारिएको पर्यटन विभागले जानकारी दिएको छ। 

विभागले तयार पारेको होटलको विवरण अनुसार, होटल संघ नेपाल (हान) मा आवद्ध व्यवसायीका २३३० र नेपाली होटल व्यवसायी महासंघ सम्बद्ध २३७२ गरी कुल ४७०२ वटा कोठा तयार भएको पर्यटन विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार, होटल क्वारेन्टिमा बस्न ७ रात ८ दिनको न्युनतम प्रतिव्यक्ति रु.११ हजारको प्याकेज तयार पारिएको छ। यस्तो प्याकेजमा पर्यटक स्तरका र २० कोठा भन्दा बढीको कोठा संख्या भएका होटल लागि छनोट गरिएको छ। 

क्वारेन्टिनमा बस्न एक तारे-बुटिकदेखि माथि पाँच तारेसम्मका होटल तयारी अवस्थामा राखेको र सम्बन्धित होटल व्यवसायीले आवश्यक व्यवस्था मिलाएर उद्धार उडानबाट आएका यात्रु लैजाने पनि उल्लेख छ। 

विदेशबाट आउने नेपाली श्रमिकलाई होटल शुल्क महंगो भएको गुनासो आएपछि  परिमार्जन गरेर पर्यटकीय स्तरमा जानेका लागि सस्तो गरेर प्याकेज बनाइएको विहीबार अर्थमन्त्री युवराज खतिवडाले बताए। उनले भने, ‘‘परिमार्जन गरेर तयार पारिएको शुल्कमा पनि गुनासो आयो र चित्त नबुझ्ने भयो भने फेरि छलफल गर्न सकिन्छ।’’

यसअघि पर्यटक स्तरका होटलको शुल्क प्रतिव्यक्ति प्रति दिन रु.२८०० र ट्वीन शेयरिङका लागि रु.१८०० तोकिएको थियो। यस्तै दुई तारे/स्ट्याण्डर्ड होटलका लागि यसअघि तोकिएको सिंगल रुममा बस्नेलाई रु. ५ हजार र ट्वीन शेयरिङमा बस्नेका लागि रु.३५ सय शुल्क प्रतिदिन राखिएको थियो।

परिमार्जन गरिएको शुल्कमा भने तारे/बुटिक होटल तय गरेर सिंगललाई रु.४ हजार र ट्वीन शेयरिङलाई रु.२५०० शुल्क बनाइएको छ। तीन तारे र सो भन्दा माथिको होटलमा बस्न भने यसअघि तय भएको शुल्कमा कुनै परिवर्तन भएको छैन।

प्याकेजमा तय भएको शुल्क पर्यटकीय देखि दुईतारे स्तरसम्मका होटलको लागि मात्रै हो। तीन तारे स्तर वा सो भन्दा माथिको होटलमा बस्न चाहने व्यक्तिले भने प्रति दिनकै आधारमा शुल्क तिर्नुपर्ने छ।  यात्रुले होटलको स्तर भने आफैंले छनोट गर्नुपर्छ। यात्रुले हवाई टिकट काट्दै कुन होटलमा बस्ने, एक्लै वा शेयरिङमा भन्ने चाहिँ पहिल्यै खुलाएर टिकटसँगै होटल बसाईको शुल्क तिर्नुपर्ने हुन्छ।

यात्रुलाई काठमाडौैं आइसकेपछि आफैं होटल छान्न पाउने र चाहेको स्तर अनुसारको होटलमा भने होटल व्यवसायी आफैंले लैजाने व्यवस्था मिलाइएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जानकारी दिएको छ।

सरकारी कोषबाट उद्धार भएका नेपाली नागरिकको हकमा भने क्वारेन्टिमा बस्ने व्यवस्था पनि सम्बन्धित प्रदेशमा नै मिलाइने उल्लेख छ। सरकारले शुल्क तिर्न नसक्ने र हवाई भाडा पनि तिर्न नसक्ने बेचर्खी भएका नागरिकको लागि भने वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट ल्याउने, यसको क्वारेन्टिन बसाइको खर्च पनि श्रम मन्त्रालय अन्तर्गत नै व्यहोरिने उल्लेख छ। 

पर्यटन विभागले तयार पारेको क्वारेन्टिनका होटलको सूची अनुसार इकोनोमि-टुरिष्ट स्ट्याण्डर्डको एउटा कोठामा दुई जना बस्ने गरी तयार पारिएको शूल्क हो।

यस्तो शुल्कमा कुनै व्यक्ति एक्लै बस्न चाहेमा भने प्रतिव्यक्ति रु.१७ हजार ५०० रुपैयाँको प्याकेज रोज्नुपर्ने छ। सात दिनमा हुने पीसीआर परीक्षणपछि थप समय बस्नुपर्ने व्यक्तिहरुको हकमा भने प्रतिदिन रु.१५ सय शुल्क तिर्नुपर्ने उल्लेख छ। 

तारे र बुटिक होटलमा बस्नको लागि प्रतिव्यक्ति रु.४ हजार र ट्वीन शेयरिङमा प्रतिव्यक्ति रु.२५ सय, तीनतारे-डिलक्स एकल बस्दा रु.६ हजार र ट्वीन शेयरिङमा प्रतिव्यक्ति रु.४ हजार रुपैयाँ तोकिएको छ। चार तारेमा एकल रु.८ हजार, शेयरिङमा प्रतिव्यक्ति रु.५५ सय शुल्क तोकिएको छ भने पाँचतारेमा एकल बस्दा रु.९ हजार र ट्वीन सेयरिङमा प्रतिव्यक्ति रु.६ हजार शुल्क तय गरेको विभागले जानकारी दिएको छ।

उद्धार उडानबाट विमानस्थलमा आइपुगेका यात्रुलाई नेपाली सेनाले काठमाडौंमा रहेको दुईवटा होल्डिङ सेन्टरमा लैजाने छ। त्यहाँबाट को कहाँ जाने भन्ने तय हुने छ। होटलमा जानेहरुका लागि सम्बन्धित होटल सञ्चालकहरुले नै लिन आउने व्यवस्था मिलाएको छ। होटल संघ नेपाल (हान) र नेपाली होटल संघले हरेक दिन पालो गरेर यात्रु लैजाने छन्।

हानले हरेक आइतबार, मंगलबार, बिहीबार र शनिबार होटल क्वारेन्टिनको व्यवस्था गर्ने छ भने बाँकी तीन दिन नेपाली होटल व्यवसायी महासंघले गर्ने पनि उल्लेख छ। सरकारको निर्णयपछि उद्धार उडानबाट आएका मध्ये ९ भदौमा ३२३ जना र १० भदौमा ३२० जना होटल क्वारेन्टिनमा गएको सीसीएमसीले जानकारी दिएको छ। 

सरकारले १७ भदौबाट दैनिक ५०० जना सम्मको लागि नियमित उडान खुला गरेको छ। नियमित उडानमा भने पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रु विमानस्थलबाटै होम क्वारेन्टिनमा बस्ने सर्तमा घर जान पाउँछन्।

पीसीआर रिपोर्ट नभएका र चेक भएर नेगेटिभ रिपोर्ट आएका यात्रु एउटै उडानमा ल्याएको अवस्थामा भने सम्बन्धित वायुसेवाले नै होटल क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने सर्तमा सरकारले उडान अनुमति दिएको छ। 

Top