उद्यम गर्न चाहनेलाई सरकारले धितो नराखी ऋण दिने

काठमाडौं – उद्यम गर्न चाहने युवालाई सरकारले बिनाधितो पाँच देखि १० लाख रुपैयाँसम्म ऋण दिने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि बिना धितो ऋण लगानी गर्ने बताउनुभएको हो ।

आइतबार काठमाडौंको किङ्स कलेजले आयोजना गरेको तेस्रो राष्ट्रिय युवा उद्यमी छनौट कार्यक्रममा बोल्दै मन्त्री विष्टले धेरै युवामा श्रम र उद्यमशीलताबाट टाढिने मानसिकताका कारण बेरोजगारीको समस्या बढेको बताउँदै सानो पूँजीको अभावमा कोही पनि युवा उद्यमशील बन्नबाट बञ्चित हुनु नपर्ने बताउनुभएको हो ।

श्रमलाई सम्मान गर्ने मानसिकताको अभावले उद्यमशीलताको विकास हुन नसकेको बताउँदै उहाँले सामान्य पढेलेखेका युवामा सानो काम गर्नुहुन्न भन्ने नकारात्मक सोच नै चुनौती बनेको उल्लेख गर्नुभयो ।

स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने सरकारको पहिलो प्राथमिकता भएको र त्यसका लागि विभिन्न कार्यक्रम ल्याउने मन्त्री विष्टले बताउँदै आउनुभएको छ ।

Top