डब्लुएचओका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर भने–नेपालमा कोरोना बढ्दो छ, आइसोलेसन बढाऔँ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का नेपाल प्रतिनिधि जोश भ्यान्डेलरले नेपालमा कोरोनाले भयावह अवस्था सिर्जना गर्न सक्ने हुँदा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा भ्यान्डेलरले यस्तो ध्यानाकर्र्षण गराएका हुन् ।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेपालमा कोरोना सुरुवाती अवस्थामा रहेकाले सचेत रहन आग्रह गरेको जानकारी दिए । उनका अनुसार नेपालमा अझै कोरोनाका संक्रमित बढ्न सक्ने भएकाले सरकारले ध्यान दिनुपर्ने भ्यान्डेलरको भनाइ थियो । “प्रधानमन्त्रीले नै बोलाएर भेट गर्नुभएको हो । कोभिड १९ को विषयमा नेपालले गरिरहेको प्रयासको प्रसंशा गर्नुभयो,” डा. भट्टराईले भने, “केही सुझाव पनि दिनुभएको छ । यो चाहिँ नेपालको सुरुवाती अवस्था हो । बढ्ने भएको हुनाले नेपालले आइसोलेसनसँगै चेतना पनि बढाउनुप¥यो ।”

नेपालमा मृत्युदर अन्य देशको भन्दा कम रहेको हुँदा लाग्नेबित्तिकै मरिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने उनको भनाइ थियो । उनले स्थानीय तहलाई बढी क्रियाशील बनाउन पनि आग्रह गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार महामारीले उग्ररुप लिइरहेको हुँदा सचेत रहन आग्रह गरेका थिए । लकडाउनको मोडालिटी अझै व्यवस्थित बनाउनुपर्नेमा पनि उनले जोड दिएका थिए ।

Top