उडान स्थगित भई नेपालमै रोकिएका १४५ जना नेपालीलाई बहराइन फर्काइयाे Abroad News by Remit Khabar - 12/09/20200 काठमाण्डाै – कोरोना भाइरसका कारण उडान स्थगित भई नेपालमै रोकिएका एक सय ४५ जना नेपालीलाई बहराइन फर्काइएकाे छ । राजदूतावासले बिदामा बहराइनबाट नेपाल आएपछि फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक एक सय ४५ जना नेपालीलाई पहिलो पटक बहराइन फर्काएको राजदूत पदम सुन्दासले बताउनुभयाे । ‘हाम्रो साथ आमाको काख’ अभियानको सहयोगमा उहाँहरु बहराइन फर्किनुभएको हो । छुट्टीमा नेपाल फर्किएका नाै सय २७ जनामध्ये एक सय ४५ पुनः रोजगारीमै बहराइन फर्किएका हुन् । बहराइनका लागि नेपाली राजदूतावासले गएकाे हप्ता अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक दुई सय ७४ नेपालीको नामावली सार्वजनिक गरेको थियो । राजदूत सुन्दासले भन्नुभयो, “कोरोना शुरु भएपछि सानो लगानीका होटल, रेस्टुरेन्टहरु बन्द भए, करीब एक हजार ३०० नेपालीले रोजगारी गुमाएका छन्, हामीले समस्यामा परेकालाई अप्रिल महिनामै नेपाल जान चाहनेलाई पठाएका थियौँ ।” यस्तै विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने एक सय ४६ जना नेपालीलाई विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ । कम्पनी बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल फर्किने इच्छुक कामदारलाई स्वदेश फर्काइएको हो । बाँकी नेपाल फर्किन इच्छुक र नेपालबाट पुनः रोजगारीमा बहराइन फर्किन इच्छुकलाई विमान चार्टर गरेरै नेपाल ल्याउने र बहराइन जान चाहनेलाई लैजाने योजना रहेको राजदूत सुन्दासको भनाइ छ । उहाँले भन्नुभयो, “अझै धेरै नेपाल जाने तयारीमा छन् । छिट्टै पठाउँछौँ । त्यहाँ कोही पनि नेपाली भोकै भएर दुःख पाएर बस्नु परेको छैन । दूतावासको सम्पर्कमा आएकालाई उद्धार राहत तथा खानबस्नको व्यवस्था गरेका छौँ ।”