वैदेशीक रोजगारीको दर्दनाक दृश्य : जाँदा आकाशमा फर्किँदै बाकसमा, साउदीबाट मात्रै ६० शव आउन बाँकी

काठमाडौं – सबैलाई रहर हुन्छ – एकछाक मिठोमसिनो खान पुगिदिए, परिवारसँगै रमाएर बस्न पाए, रोग लाग्दा सहजै स्वास्थ्यउपचार गर्न पाए, छोराछोरीलाई उचित किसीमको शिक्षदिक्षा लालनपालन गर्न पाए ! तर नेपाली यूवाहरुले स्वदेशमा काम गर्ने उचित वातावरणको अभावमा यी सामान्य रहरहरु पूरा गर्न वैदेशीक रोजगारीमा जानुपरेको छ । परदेशी जीवन एकाध मानिसहरुको बाहेक सोचेजस्तो कहाँ हुन्छ र ? अनेकौँ सपनाकाबीच पोैँठेजोरी खेल्दाखेल्दै जीवनको ईहलिला कतिबेला समाप्त हुन्छ थाहै नहुने । त्यतिमात्रै होईन मृत्युपछि शव नेपाल ल्याउन अर्को झमेला आईपर्छ ।

सुन्दर सपना देखेर परदेशीएका आफ्ना आफन्त कहिल्यै नफर्किने गरी बिदा गर्नुपर्दाको असह्य पीडाबोध त छँदैछ । त्यसमाथि शव स्वदेश नआउँदाको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ । हो, विदेशी भूमिका नेपालीको शव कैयौँ दिनसम्म अलपत्र पर्छ ।

यसैबीच साउदीस्थित नेपाली राजदूताबासका अनुसार साउदी अरबमा कोरोना लगायत अन्य विभिन्न कारणले मृत्यु भएका ६० जना नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिंह राजपुतले ती शव नेपाल पठाउने प्रक्रियामा रहेको जानकारी दिएको एनआरएनएले जनाएको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको कोरोनाको कारण मृत्यु भएको छ । योसँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको छ ।

विदेशका विभिन्न १६ देशमा हिजो शनिवार साँझसम्म कोरोना संक्रमणका कारण मात्रै मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको एनआरएनए स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले बताए । कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।
कोरोना महामारीकै बीच हालसम्म विभिन्न कारणले विदेशमा निधन भएका ३ सय जना नेपालीहरुको शव नेपाल ल्याइएको छ ।

Top