इ-कमर्श कम्पनीहरुमा चाडपर्व लक्षित रोजगारीको अवसर

कोरोना भाइरसको महामारी लम्बिंदै जाँदा नेपालमा पनि इ-कमर्श व्यापार फस्टाउँदै गएको छ। यस्तो व्यापार गर्ने कम्पनीहरुको व्यापार बढिरहेको उनीहरुले बताउँदै आएका छन्।

महामारी अघि सामन्य अवस्था रहेको उनीहरुको व्यापार पछिल्लो समय आउँदा झनै फस्टाउँदै गएको छ। हरियो सागपात, तरकारीदेखि लत्ताकपडासम्मको कारोबार यस्ता कम्पनीहरुले गरिरहेका छन्।

विशेषगरी राजधानी काठमाडौंमा यस्तो व्यापार बढेको कुरा उनीरुले दिन लागेको रोजगारीको अवसरबाट पनि थाहा हुन्छ। यस्ता कम्पनीहरुले नेपालको सन्दर्भमा एकैपटक ठूलो संख्यामा नयाँ रोजगारी खुलाएका छन्।

नेपालमा मुख्य कम्पनीहरु दराज डटकम, सस्तो डिल,ग्यापु अनलाइन तथा लजिस्टिक कम्पनी नेपएक्सप्रेसले झन्डै २ हजार थप रोजगारी सिर्जना गरेका छन्।

यद्यपी यसरी सिर्जना भएको रोजगारी आंशिक वा अस्थायी हुने छ। दशैंको अवसरमा बजारमा माग बढ्ने भएकाले अस्थायी रोजगारी सिर्जना गरिएको सस्तो डिलका संस्थापक अमुन थापाले जानकारी दिए।

अघिल्लो वर्षको दशैंको तुलनामा पाँचगुणा अस्थायी रोजगारीको अवसर दिइएको उनले बताए।

चिनियाँ इकमर्श जायन्ट अलिबाबाको भेन्चर दराजले हालैमात्र ९ रोजगारीको अवसर खुलाएको छ। उसले यो अस्थायी रुपमा रोजगारी दिनका लागि खुलाएको सूचना प्रकाशित गरेको छ।

दराजले नोभेम्बरसम्म यो संख्यामा नयाँ रोजगारी सिर्जना गरिसक्ने बताएको छ। दराजले विभिन्न कामका लागि यस्तो अवसर दिन लागेको छ। अस्थायी रुपमा दिने यस्तो अवसरमा डेलिभरी राइडर, हब अपरेटर, सर्ट अपरेटर, पिकिङ तथा प्याकिङ, ग्राहक सेवा प्रतिनिधि र डजिटल ह्यान्डल रहेका छन्।

त्यस्तै सस्तो डिलले पनि पाँच सय जनाका लागि रोजगारी खुलाएको छ। कम्पनीले विभिन्न कामका लागि यस्तो रोजगारी खुलाएको हो। उसले इच्छुकलाई आवेदन दिन आव्हान गरेको छ।

त्यस्तै केही समय अघिमात्र ढुवानी सम्बन्धिमात्र काम गर्ने नेपएक्सप्रेसले सय जना बढीलाई रोजगारी दिएको थियो भने ग्यापु अनलाइनले पनि सयौंको संख्यामा नयाँ रोजगारी दिएको छ।

ग्यापुले दशैंकै लागि भनेर सय बढी रोजगारीको अवसर दिने संस्थापक ज्ञानेन्द्र खड्काले जानकारी दिए।

पछिल्लो समय लकडाउनको कारण इकमर्शप्रति उपभोक्ताले विश्वासनीयता बढेकाले यस्तो रोजगारी स्थायी रुपमा पनि थपिंदै जाने उनको भनाइ छ।

‘पहिले इकमर्शप्रति विश्वास थिएन। अविश्वासको नजरले हेरिन्थ्यो तर अहिले भने विस्तारै धारणा फेरिन थालेको छ। हामीले दैनिक नयाँ प्रयोगकर्ताहरु पाइरहेका छौं’ उनले भने।

महामारी अघिको अवस्थामा अन्य पेसामा रहेका र महामारीका कारण रोजगारी गुमाएकाहरुले थोरै भएपनि इकमर्श क्षेत्रमा अवसर पाउने सस्तोडिलका संस्थापक थापाको भनाइ छ।

‘हामीले महामारीकै क्रममा पनि कर्मचारीहरुको परिवारलाई पनि सहयोग गरेका थियौं। अहिले विस्तारै माग बढ्न थालेपछि एक महिनाकै भएपनि चाडपर्वको अवसरमा कमाइको मौका पाउने छन्’ थापाले भने।

Top