अधिक तरलता भएपछि बैंकहरूबाट पैसा तान्दै राष्ट्र बैंक, ३० अर्बको निक्षेप संकलन उपकरण आज बोलकबोल हुँदै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन जारी गर्ने भएको छ । केन्द्रीय बैंकले आज बिहीबार बोलकबोलमार्फत ३० अर्बको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो ।

केन्द्रीय बैंकले २८ दिनअवधि रहेको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो । अधिक तरलता भएर प्रणालीमै समस्या आउन लागेपछि तरलता प्रशोचनका लागि केन्द्रीय बैंकले उक्त उपकरण जारी गर्न लागेको हो । आज असोज ८ गते निष्कासन गर्ने निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछन् । उक्त उपकरणमा लगानी गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टमबाट बोलकबोल पेस गर्नुपर्ने हुन्छ ।

उक्त उपकरणमा लगानी गर्न न्यूनतम १ करोड र बढीमा १ करोडले भाग गर्दा निशेष भाग जाने कुल आह्‍वान रकमसम्म आवेदन गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ब्याजदर बोलकबोलबाट हुने र बोलकबोलमा बहुल ब्याजदर पनि गर्न सकिने जनाइएको छ ।

उक्त बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले भाग लिन सक्ने केन्द्रीय बैंकले जनाएको छ । आह्‍वान गरिएको रकम बाँडफाँड गर्दा न्यून ब्याजदर कबोल गर्नेलाई प्राथमिकता दिइने केन्द्रीय बैंकले जनाएको छ ।

कोरोना भाइरसका कारण बैंकहरूले कर्जा लगानी गर्न नसक्दा बैंकहमा लगानीयोग्य रकम अधिक भएको छ । जसले गर्दा ब्याजदरमा उतारचढाव देखिएको छ । बैंकिङ प्रणालीमै पनि समस्या आउने हो कि भन्‍ने चिन्तासमेत प्रकट हुन लागेको छ । ०७२/७३ पछि निक्षेपको ब्याजदर न्यूनविन्दुमा आएको छ । बैंकरहरूले राष्ट्र बैंकले तरलता प्रशोचन नगर्ने हो भने निक्षेप अझै घटाउनुपर्ने बताइरहेका छन् ।

यी अवस्थामा एक महिनाका लागि तरलता प्रशोचन गर्ने उद्देश्यले केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो । राष्ट्र बैंकले यसअघि पनि रिभर्स रिपोमार्फत तीनपटक एक-एक साताका लागि तरलता प्रशोचन गरेको थियो । तर रिभर्स रिपोमार्फत एक साताका लागि तरलता प्रशोचन गर्दा पुन: एक सातामै बैंकिङ प्रणालीमा त्यो तरलता जाने भए पनि यसपटक भने एक महिनाका लागि निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।

डेपुटी गभर्नरको नेतृत्वमा रहेको राष्ट्र बैंकको खुला बजार सञ्चालन समितिले २८ दिन अवधि रहने निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्‍ने निर्णय गरेको हो । -फाइल तस्बिर

Top