बढ्यो रेमिट्यान्स

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा पनि रेमिट्यान्समा कोभिड–१९ को असर परेको छैन । साउनमा रेमिट्यान्स गत असारको हाराहारीमै आएको छ । राष्ट्र बैंकका अनुसार यस वर्षको साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको त्यही अवधिको तुलनामा यो २३ प्रतिशत बढी हो । अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह २ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १४.५ प्रतिशत बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशत बढेको थियो ।

नेपालमा लकडाउन सुरु भएको महिना (गत चैतमा) ३४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरिएको थियो । किनकि अघिल्लो महिना करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो । वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो ।

तेल उत्पादन गर्ने खाडीलगायतका मुलुकको अर्थतन्त्रमा अपेक्षित रूपले गिरावट नआएको र ती राष्ट्रका उत्पादनमूलक क्षेत्रमा कोभिड–१९ को असर कम देखिएको हुनाले नेपाल भित्रिने रेमिट्यान्स न्यून प्रभाव परेको राष्ट्र बैंकका प्रवक्ता एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘कोभिड–१९ का कारण चीनको अर्थतन्त्रमा धेरैले गिरावट आउने अनुमान थियो । तर चीनले नियन्त्रणमा लिइहाल्यो,’ उनले भने, ‘चीनको अर्थतन्त्रमा गिरावट नआएकाले विश्व बजारमा वस्तु तथा सेवाको माग घटेन ।’

भारतबाहेकका मुलुकमा वैदेशिक रोजगारीमा गएका धेरै मानिस नफर्किएकाले पनि रेमिट्यान्स धेरै नघटेको भट्टको भनाइ छ । ‘अमेरिकालगायत ठूला अर्थतन्त्र भएका मुलुकले कोभिड–१९ का कारण लामो समय लकडाउन गरेनन्,’ उनले भने, ‘यसकारण पनि विश्व अर्थतन्त्र अपेक्षित रूपमा खस्किन पाएन । त्यसको सकारात्मक प्रभाव रेमिट्यान्समा पर्‍यो ।’

लकडाउन सुरु भएपछि राष्ट्र बैंकले पनि १० प्रतिशतभन्दा धेरैले रेमिट्यान्स घट्ने अनुमान गरेको थियो । रेमिट्यान्स आउने प्रमुख राष्ट्रमा कोरोनाको असर धेरै रहेको भन्दै घट्ने अनुमान गरिएको थियो । गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

चार वर्षपछि चालु खाता बचतमा
चालु खाता ०७३ मंसिरयता गत साउनमा पहिलो पटक बचतमा छ । राष्ट्र बैंकका अनुसार गत साउनमा २५ अर्ब ४१ करोडले यो खाता बचतमा गएको हो । गत वर्ष साउनमा यो खाता ९ अर्ब ३४ करोडले घाटामा थियो । यो खातामा वस्तु आयात–निर्यात, सेवा आयात–निर्यात, रेमिट्यान्सलगायत रकम ट्रान्सफर र मुलुकलाई प्राप्त आयव्यय समावेश गरिन्छ । गत वर्षभन्दा यो वर्ष आयात घटेको तथा सेवाअन्तर्गत भ्रमण, शिक्षालगायतमा मुलुकबाट बाहिरिने खर्च कम भएको हुनाले चालु खाता बचतमा गएको राष्ट्र बैंकका प्रवक्ता भट्टले बताए ।

शोधनान्तर बचत ५१ अर्ब ४६ करोड

गत साउनमा मुलुकको शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको त्यही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा थियो । ‘अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकामा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ । लकडाउन भएदेखि नै शोधनान्तर बढ्न थालेको छ । गत आर्थिक वर्षको तुलनामा चालु वर्ष आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेको, सरकारको बाह्य ऋण बढेकोलगायत कारण शोधनान्तरमा सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ । लकडाउनमा निर्यातमा केही सुधार हुनु, विदेशमा अध्ययन तथा पर्यटन खर्च घट्नु, बिजुलीको आयात घटनुलगायत कारण शोधनान्तर स्थिति सुधारमा सहयोग पुगेको प्रतिवेदनले औंल्याएको छ ।

विदेशी मुद्रा सञ्चिति १४ खर्ब ३६ अर्ब
गत साउनमा मुलुकको कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो करिब २.५ प्रतिशतको वृद्धि हो । ०७६ असारमा यो १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ थियो । गत वर्ष अमेरिकी डलरमा पनि यस्तो सञ्चिति बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा साउनमा १२ अर्ब २ करोड पुगेको छ । गत साउनसम्मको विदेशी विनिमय सञ्चितिले मुलुकका लागि १५.६ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकले दाबी गरेको छ ।

मूल्य वृद्धि ३.४९ प्रतिशत
गत साउनमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ३.४९ प्रतिशत छ । यो राष्ट्र बैंकको वार्षिक लक्ष्यभन्दा कम हो । राष्ट्र बैंकले चालु वर्षमा मूल्य वृद्धिदर ७ प्रतिशतभत्रै राख्ने लक्ष्य राखेको छ । अघिल्लो वर्ष त्यही बेला वृद्धिदर ६.९५ प्रतिशत थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ५.३८ र गैरखाद्य तथा सेवा समूहको २.०४ प्रतिशत छ । ‘०७६ साउनभन्दा ०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तीजन्य वस्तुको मूल्य वृद्धि उच्च छ,’ प्रतिवेदनमा भनिएको छ, ‘०७७ असारको तुलनामा साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेको छ ।’

गत साउनमा काठमाडौं उपत्यकामा ३.३१, तराईमा ४.०२, पहाडमा २.७२ र हिमालमा ४.०७ प्रतिशत मूल्य वृद्धि छ । ०७६ साउनमा यी क्षेत्रको मूल्य वृद्धि क्रमशः ८.६३, ६.४६, ६ र ५.५७ प्रतिशत थियो ।

Top