नेपालबाट बाहिरिने विप्रेषणमा कमी

काठमाडाैं । कोरोना भाइरसको महामारीका कारण गत आवमा नेपालमा भित्रिने मात्र होइन, बाहिरिने विप्रेषणमा पनि कमी आएको छ । नेपालबाट बाहिरिने विप्रेषण २१ दशमलव ६१ प्रतिशतले घटेको छ ।

नेपालबाट औपचारिक माध्यमबाट बाहिरिने विप्रेषणमा सो बराबरको कमी आएको हो । गत आर्थिक वर्ष (आव)मा औपचारिक माध्यमबाट रू. ५ अर्ब ४४ करोड विप्रेषण बाहिरिएको थियो, जुन अघिल्लो आवको भन्दा १ अर्ब ५० करोड रुपैयाँले कम हो । आव २०७५/७६ मा रू. ६ अर्ब ९४ करोड विप्रेषण बाहिरिएको थियो । आव २०७४/७५ मा भने ५ अर्ब ७८ करोड रुपैयाँ विप्रेषण बाहिरिएको थियो ।

भारत, चीनलगायत मुलुकबाट रोजगारीका लागि नेपाल आएका कामदारले औपचारिक माध्यमबाट सो बराबरको विप्रेषण बाहिर पठाएका हुन् । एयरलाइन्स, होटेल र विदेशी स्वामित्वको बैंक तथा बीमा कम्पनीहरूमा विदेशी कामदार तथा कर्मचारी कार्यरत छन् । उनीहरूले आफ्नो पारिश्रमिक औपचारिक माध्यमबाट आप्mनो मुलुक पठाउने गर्छन् ।

चीन र भारतलगायत मुलुकबाट यहाँ विभिन्न प्रकारका रोजगारीका लागि आउने गर्छन् । त्यसमा कतिपयले औपचारिक र कतिपयले अनौपचारिक माध्यमबाट पारिश्रमिक लैजाने गरेका छन् ।

पछिल्ला वर्षहरूमा नेपालबाट बाहिरिने विप्रेषण बढ्दै गएको थियो । तर, गत आवमा विप्रेषण उत्प्रवाह बढ्ने क्रम रोकिएर घट्न गएको छ । कोरोना भाइरसको महामारीका कारण गत आवमा नेपालबाट बाहिरिने विप्रेषण घटेको हो ।

नेपालका विद्युत् आयोजनाहरूको निर्माणमा चिनियाँ कामदार तथा प्राविधिकहरू कार्यरत छन् । तर, चीनमा कोरोना संक्रमण हुन शुरू भएसँगै बिदामा त्यहाँ गएका चिनियाँ कामदार गत मङ्सिर÷पुसदेखि नै नेपाल आएका छैनन् । यही कारण चीनतर्पm जाने विप्रेषणमा कमी आएको हो ।

कोरोनाको महामारीका कारण गत आवको पछिल्लो ४ महीनातारे होटेल तथा एयरलाइन्स कम्पनीहरू बन्द भए । त्यसपछि त्यस क्षेत्रमा कार्यरत विदेशी कामदारहरूको रोजगारीमा आएको समस्याका कारण पनि नेपालबाट बाहिरिने विप्रेषणमा कमी आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

‘गत आवमा बाहिरिने विप्रेषण घट्नुको मुख्य कारण नै कोरोनाको महामारी हो,’ उनले भने, ‘होटेल तथा एयरलाइन्स कम्पनीमा विदेशी कामदार कार्यरत छन् । कोरोनाले त्यो क्षेत्र प्रभावित भएपछि त्यस क्षेत्रबाट बाहिरिने विप्रेषणमा कमी देखिएको हो ।’

अनौपचारिक माध्यमबाट बाहिरिने विप्रेषण रकममा पनि कमी आएको हुन सक्ने आकलन गरिएको छ । यद्यपि यसको तथ्यांक भने कतै पनि पाइँदैन । नेपालका सुनचाँदी पसल तथा निर्माण क्षेत्रमा भारतीय कामदारहरूको अंश बढी छ । अधिकांश कामदारले नेपाल–भारत सीमाक्षेत्रमा नोट सटही गरेर नगदमा नै आप्mनो पारिश्रमिक लैजाने गर्छन् ।

सुनचाँदी पसलमा आउने भारतीय कालीगढले मात्र नेपालबाट वार्षिक २५ अर्ब रुपैयाँ लैजाने गरेका छन् । यस्तै, अन्य क्षेत्रमा आउने भारतीय कामदारले पनि उच्च मात्रामा रकम लैजाने गरेको बताइन्छ । कोरोनाका कारण सुनचाँदी व्यवसाय तथा निर्माण व्यवसाय प्रभावित भएपछि त्यहाँ आबद्ध कामदारहरूको रोजगारी गुमेको छ । त्यस अवस्थामा अनौपचारिक माध्यमबाट बाहिरिने रकममा पनि कमी आएको हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।

नेपालबाट कति विप्रेषण बाहिरिन्छ भन्ने यकिन तथ्यांक नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको कुनै पनि निकायसँग छैन । तर, राष्ट्र बैंकले यस विषयमा आवश्यक अध्ययन गर्ने प्रवक्ता भट्टले बताए । ‘हामीले पहिले नै वार्षिक कार्ययोजना बनाएर यस विषयमा अध्ययन गर्ने भनेका थियौं । तर, कोरोनाको महामारीका कारण आवश्यक काम गर्न पाइएको छैन,’ उनले भने, ‘कोरोनाको महामारी सकिएपछि यसबारेमा आवश्यक प्रक्रिया अगाडि बढ्नेछ ।’

विश्व बैंकको एक अध्ययनअनुसार भारतमा नेपालबाट वार्षिक ३ अर्ब डलर अर्थात् ३०० अर्ब रुपैयाँभन्दा बढी विप्रेषण जाने गर्छ । भारतले बढी विप्रेषण प्राप्त गर्ने देशमध्ये नेपाल ८ नम्बरमा पर्ने विश्व बैंकको २०१७ को एक अध्ययनले देखाएको छ ।

Top