जेनेभामा न्यूनतम मासिक तलब नै ५ लाख रुपैयाँ !

स्विट्जरल्यान्डको शहर जेनेभाले संसारको सबभन्दा बढी मासिक तलब दिने भएको छ । मासिक तलब ४५ सय १० डलर तोकिने भएको छ जुन अहिलेको विनिमय दरमा ५ लाख २८ हजार ३४५ रुपैयाँ हुन्छ ।

जेनेभामा लगभग ५ लाख मतदाता छन् र जनमतसंग्रहमा दुई तिहाइले न्यूनतम तलबको समर्थन गरेका थिए ।

अबको १५ दिनमा नयाँ तलबमान लागू गरिनेछ ।

जेनेभा संसारको दोस्रो सबभन्दा महंगो शहर भएको एक्सप्याटिस्तान नामक संस्थाले संकलन गरेको आँकडाले देखाएको छ ।

कोभिड–१९ का कारण पर्यटक तथा व्यापारका लागि आउनेहरूबाट राजस्व उठाउन नपाउँदा जेनेभालाई गाह्रो परिरहेको छ ।

कोरोनाभाइरसका कारण बढ्दो गरीबीका कारण परिवारहरू सित्तैमा खाना पाइने फूड बैंकहरूमा निर्भर रहनुपरेको छ । महामारी चर्किंदा लगभग आधा माइलसम्म मानिसहरूको पंक्ति देखिन्थ्यो ।

यस तलबमानले न्यून आय भएका ३० हजारजना कामदारलाई लाभ पुर्‍याउने ग्रूपमाँ ट्रान्सफ्रोंतालियर युरोपीनका अध्यक्ष मिसेल शाराटले बताए ।

नयाँ न्यूनतम आय आरम्भमा स्विट्जरल्यान्डका वामपन्थी दलहरूले प्रस्ताव गरेका थिए । जीवनयापन खर्च बढ्दै गएको स्थितिमा यसरी तलबमान बढाउनुपर्ने उनीहरूको माग थियो ।

दक्षिणपन्थीहरूले चाहिँ वर्तमान संकट समाधानका लागि युरोपेली संघका सदस्य मुलुकहरूबाट आउने आप्रवासीको संख्यामा सीमा तोक्नका लागि सुझाव दिएका थिए । तर मतदाताहरूले उनीहरूको प्रस्ताव अस्वीकार गरिदिए ।

Top