कात्तिक १ देखि नेपाल-भारत हवाई खुलाउने तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयले नेपाल-भारत हवाई खुलाउन प्रस्ताव गरेको छ । मन्त्रालयले आगामी १ कात्तिकबाट भारततर्फ उडान खोल्न सीसीएमसीमा प्रस्ताव पठाएको प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए ।

‘नेपाल-भारत हवाई सेवा खुलाउन प्रस्ताव पठाएका छौं । निर्णय भइसकेको छैन,” उनले भने । उनले सर्तसहित उडान खुलाउन प्रस्ताव गरिएको बताए । भारतबाट आउँदा ७२ घण्टा अगाडिको पीसीआर परीक्षण नेगेटिभ भएको प्रमाण हुनुपर्ने, एउटै जहाजबाट नेगेटिभ र पोजेटिभ रिपोर्ट भएका यात्रु ल्याउन नपाइने यसअघिको व्यवस्थालाई यसमा पनि प्रयोग गरिने उनले बताए ।

भारतले आफ्नो देशमा रहेका विभिन्‍न मुलुकका नागरिकलाई घर फर्काउन सक्ने गरी ‘एयर बबल स्किम’ जारी गरेपछि नेपालले भारतमा हवाई सेवा खुलाउने तयारी गरेको हो । नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउने गरी उडान खुला हुन सक्ने जनाइएको छ । तर, भारतमा कोरोना संक्रमणको दर उच्च रहेकाले तत्काल सीसीएमसी हवाई सेवा खुलाउन तयार हुने/नहुने स्पष्ट भइसकेको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍बाट नेपाल-भारत हवाई सेवा पुनः सुरु हुन सक्नेछ ।

दसैं, तिहार नजिकिएको र भारतमा धेरै नेपाली रहेकाले उनीहरुलाई आउन सहज बनाउने गरी खुला हुन सक्नेछ ।

भारतले केही समय अगाडि नै नेपाली नागरिकलाई भारत जान र भारतीय नागरिकलाई नेपाल आउन दिने गरी हवाई सेवा खुलाउन पत्राचार गरेको नागरिक उड्डन प्राधिकरणका एक अधिकारीले जानकारी दिए । सोही अनुसार नेपाल–भारत हवाई सेवा खुलाउन प्रस्ताव सीसीएमसीमा गरिएको हो ।

Top