जापानको रोजगारी सुचारु हुँदै, कहिलेसम्म जान पाउँछन् श्रमिक ?

काठमाडौं – वैदेशिक रोजगार विभागले जापानको रोजगारी सुचारु गर्न प्रक्रिया अघि बढाएको छ । कोरोना संकट र कानुनी झमेलाका कारण ओझेलमा परेको जापान रोजगारी सुचारु गर्न प्रक्रिया अघि बढाइएको हो ।

जापानको रोजगारीमा परीक्षालगायत छनोटसम्बन्धी काम गरिरहेको जापान फाउन्डेसनले नेपाललाई श्रमिक पठाउने प्रक्रिया सुरु गर्न आग्रह गरेपछि प्रक्रिया सुरु गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार इजरायलले नेपाली श्रमिक माग गर्ने जनाइरहेका बेला जापानले समेत नेपालबाट श्रमिक लैजानेबारे नेपाली पक्षसँग छलफल अगाडि बढाइएको हो ।

२०७५ चैत ११ मा कामदार आपूर्तिबारे सरकारीस्तरमा जापान(नेपाल सहकार्यको समझदारी (एमओसी) भएको थियो । समझदारीमा कृषि, नर्सिङ, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, भवन सरसफाइ तथा व्यवस्थापन, जहाज र जहाजका पार्टपुर्जा उद्योग एवं हवाई उद्योग गरी १४ क्षेत्रमा विदेशी श्रमिक लिने भनिएको छ ।

सम्झौताको डेढ वर्षसम्म नेपाली कामदारले लाभ लिन सकेका थिएनन् । अब भने प्रक्रिया अघि बढेको हो । नेपाल र जापान सरकारबीच ‘स्पेसिफाइड स्कील वर्कर’अन्तर्गत नेपाली श्रमिक पठाउनेसम्बन्धी एमओसीमा हस्ताक्षर भएबमोजिम चरणबद्ध रूपमा नेपाली श्रमिक लैजाने योजनाअनुसार काम अगाडि बढाइएको छ ।

विभागले जतिसक्दो चाँडो जापानमा नेपाली श्रमिक पठाउनका लागि ‘स्पेसिफाइड स्कील वर्कर’ (एसएसडब्लू) सम्बन्धी कार्यविधि पारित गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा प्रस्ताव पठाएको जनाएको छ । विभागका अनुसार केयरगिभरबाहेक अन्य क्षेत्रमा समेत नेपाली कामदारलाई रोजगारी दिन छलफल भइरहेको छ ।

Top