एपीआई पोलिसी ल्याउने अन्तिम तयारी, कसलाई दिने भन्‍ने दुविधा कायमै

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) ले नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालन गर्ने गरी ब्रोकरहरुलाई एपीआई दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपाल स्टक एक्सचेन्‍ज (नेप्से) ले आईटी पोलिसी स्वीकृत भएर एपीआई पोलिसी जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

ब्रोकरलाई एपीआई दिन एपीआई पोलिसी जारी गर्ने अन्तिम तयारी गरेको नेप्सेका सीईओ चन्द्रसिंह साउदले बताए । “हामीले आईटी पोलिसी स्वीकृत गरेर एपीआई पोलिसी जारी गर्न ब्रोकरसँग छलफल पनि गरिसकेका छौं र चाँडै नै जारी गर्छौं,” साउदले भने ।

अनलाइन प्रणालीमा नट्ससँगै टीएमएस पनि नेप्सेले नै सञ्‍चालन गरिरहेको थियो । तर अनलाइन कारोबार प्रणालीलाई नेपाल धितोपत्र बोर्डले पूर्ण स्वचालित बनाउन निर्देशन दिएको थियो । खास गरेर डाटा सेन्टरमा समस्या आउँदा अब टीएमएस ब्रोकरहरुलाई नै सञ्‍चालन गर्न दिनुपर्ने विषय त्यतिबेला उठेको थियो । अन्तर्राष्ट्रिय अभ्यास पनि टीएमएस स्टक एक्सचेन्जले नभएर दलाल व्यवसायीले नै गर्ने गरेको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्‍गाना बताउँछन् ।

ढुङ्‍गानाकै अग्रसरतामा नेप्सेले टीएमएस व्यवस्थापनको जिम्मा ब्रोकरलाई नै दिने र ब्रोकर पनि टीएमएस व्यवस्थापन गर्न तयार भएर नयाँ कम्पनी दर्ता गर्न लागेका छन् । ब्रोकरहरुले १० करोड जारी र २५ करोड रुपैयाँ अधिकृत पुँजी भएको कम्पनी दर्ता गरेर टीएमएस व्यवस्थापन गर्न लागेका छन् ।

१० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा ब्रोकरहरुले मात्रै लगानी गर्ने अथवा बैंकहरु र आईटी कम्पनीलाई पनि समावेश गरेर लैजाने भन्‍ने विषय नटुङ्‌गिएको नेपाल स्टक ब्रोकर एसोसिएसनका उपाध्यक्ष टंकप्रसाद गौतमले बताए । अहिले नयाँ कम्पनीको मुख्य उद्देश्य भनेको धितोपत्र व्यवसायीको अपडेटेड डाटा सेन्टर र टीएमएस व्यवस्थापन रहेको उनले बताए ।

“ट्रेड म्यानेजमेन्ट सिस्टम नेप्सेले दलाल व्यवसायीलाई नि:शुल्क चलाउन दियो तर यो त्यति इफिसेन्सी भएन र अर्को अल्टरनेटिभ प्रोडक्ट बजारमा हुँदा लगानीकर्तालाई चुस्त कारोबार गर्ने विकल्प हुन्छ कि भन्‍ने अर्को उद्देश्य छ,” उनले भने।

नयाँ दर्ता भएको कम्पनी विशुद्ध आईटी कम्पनी भएको र यसले धितोपत्र बजारलाई आवश्यक पर्ने प्रोडक्ट डिजाइन गर्ने उनले बताए । अहिले नेप्से र केही अन्य सीमित व्यक्ति अथवा संस्थाको पहुँचमा मात्रै पुँजीबजारको डाटा रहेको र लगानीकर्तालाई डाटाको अभाव देखिएकाले यसले पुँजीबजारको डाटा सेन्टरको रुपमा विकास गर्ने योजना रहेको उनले बताए ।

“हामीले कम्पनीमार्फत क्यापिटल मार्केटलाई चाहिने सम्पूर्ण प्रोडक्ट, डाटा, प्रविधिगत कुराहरु हुन्छ, डाटावेशका कामहरु गर्ने गरी योजना बनाएर कम्पनी दर्ता गरेका हौं,” उनले भने । कम्पनीको नाम ‘क्यापिटेड नेपाल प्रालि’ रहेको उनले बताए।

दलाल व्यवसायीहरुले टीएमएस व्यवस्थापन गर्ने गरी कम्पनी दर्ता गरेर प्रक्रिया अगाडि बढाइसके पनि कम्पनीले नै एपीआई लिएर काम गर्ने हो अथवा कम्पनीले सफ्टवेयर मात्रै डिजाइन गरेर सबै ब्रोकरले एपीआई लिएर टीएमएस सञ्‍चालन गर्ने भन्‍ने कुरा अन्योलमा छ । ब्रोकरहरुको चाहना भने नयाँ आउने आईटी कम्पनीले नै एपीआई लिएर टीएमएस व्यवस्थापन गर्नुपर्ने पक्षमा रहेको देखिन्छ ।

ब्रोकर संघका उपाध्यक्ष गौतम नयाँ आईटी कम्पनीले एपीआई लिएर त्यसैमार्फत टीएमएस सञ्‍चालन गर्ने अथवा उसले सफ्टवेयर डिजाइन गरेर ब्रोकरलाई उपलब्ध गराउने भन्‍ने विषय छलफलमै रहेको बताए । तर अर्का एक ब्रोकर भने सबै ब्रोकरले सफ्टवेयर लिएर टीएमएस व्यवस्थापन गर्दा लागत बढ्ने भएकोले आईटी कम्पनीले नै एपीआई लिएर टीएमएस व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।

यता नेप्से भने आईटी कम्पनीलाई एपीआई दिन नसकिने बताउँछ । नेप्सका सीईओ साउँद नेप्सेले अन्य कम्पनीलाई नभएर ब्रोकरहरुलाई टीएमएसका लागि एपीआई दिने बताए । उनले भने, “हामीले आईटी कम्पनीलाई एपीआई दिने होइन ब्रोकरलाई दिने हो । जुन पायो त्यही कम्पनीलाई एपीआई दिँदा भोलि सेक्युरिटीको ग्यारेन्टी कसले गर्ने ?” लाखौं लगानीकर्ताको विवरण रहेकाले सेक्युरिटीको ग्यारेन्टी नहुने अवस्थामा ब्रोकरलाई भन्दा अरुलाई एपीआई दिन नसकिने उनको भनाइ छ ।

Top