विच्याटसँग सम्झौता गर्ने पहिलो बैंक बन्यो एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिङ्‌स लिमिटेडसँग सम्झौता गरेको छ । उक्त कम्पनीको वीच्याट भुक्तानी प्रणालीमार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने व्यवस्था उक्त सम्झैता गरिएको छ । यस बैंक वीच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एक मात्र बैंक रहेको जनाएको छ ।

टेन्सेन्ट होल्डिङ्‌ससँगको यस साझेदारीबाट एनएमबि बैंक नेपालमा वीच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्‍ने जनाइएको छ ।

“हामी १.१७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवामध्ये एक वीच्याट भुक्तानी प्रणाली सञ्‍चालनका लागि टेन्सेन्ट होल्डिङ्‌स लिमिटेडसँग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेका छौं,” बैंकले जारी विज्ञप्तीमा भनिएको छ ।

नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनीय रहेको छ । संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनीय रहेको छ ।

देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई यस बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली वीच्याटको सुविधा प्रदान गर्न सक्षम भएको बैंकले जनाएको छ । यसबाट यस्ता पर्यटकहरुले सामना गरेको मुद्रा विनिमयको समस्यालाई सहज बनाउने जनाइएको छ ।

चिनियाँ पर्यटकहरुले नेपालमा वस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या वृद्धि गर्नसमेत मद्दत गर्ने बैंकले जनाएको छ ।

Top