आइएमईले स्थापना गर्‍यो ‘भरोसा कोष’

कोभिड–१९ संक्रमणबाट विदेशमा मृत्यु भएकाका आफन्तलाई सहयोग गर्ने उद्देश्यले आइएमईले ‘भरोसा कोष’को स्थापना गरेको छ । कम्पनीले सम्भव भएसम्म धेरै सहयोग गर्ने योजनासहित कोष स्थापना गरेको हो ।

कोषमा ०७६ पुस १६ देखि ०७७ असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तले आवश्यक विवरणसहित आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । काठमाडौंको केन्द्रीय कार्यालय र सबै प्रदेशमा रहेका प्रादेशिक कार्यालयमा कात्तिक मसान्तसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

रीतपूर्वक प्राप्त भएका आवेदनउपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने कम्पनीले जनाएको छ । यसबारे अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुने आइएमईले जनाएको छ । यो वर्षको चाडपर्वमा कुनै हौसला नरहेको भन्दै कम्पनीले यसअघि ल्याउने गरेको चाडपर्वलाई लक्षित स्किम ल्याउन नसकेको कम्पनीको स्पष्टोक्ति छ । चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था भने पहिलेका वर्षझैँ मिलाएको जनाइएको छ ।

यस वर्ष पर्वलक्षित स्किममा खर्चिने स्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेको आइएमईले जनाएको छ । यो प्रयासबाट थोरै भए पनि प्रभावित परिवारलाई आडभरोसा मिल्ने विश्वास लिएको जनाइएको छ ।

Top