सिटिजन्स बैंकका ग्राहकले मोबाइलबाटै पिन रिसेट गर्न सक्ने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा नगईकन मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधाको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई सहज रूपमा आधारभूत बैंकिङ सेवा प्रदान गर्ने र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ यो सेवाको सुरुवात गरेको हो ।

बैंकले ग्राहकले अब मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट व्यहोर्नुनपर्ने जनाएको छ । यसका साथै बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने जनाइएको छ ।

बैंकले १ सय ११ शाखा, ९९ एटिएम र १ सय ४ शाखारहित बैंकिङ इकाइबाट करिब साढे ६ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

डिल आयो डटकममा क्यासब्याक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकका डेबिट–क्रेडिट कार्डबाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ताले पस, क्युआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट भुक्तानी गर्दा छुट पाउने भएका हुन् ।

डिल आयो डटकममा १ हजार रुपैयाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २ हजार ५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । योजना कात्तिक ६ गतेसम्म लागू हुने जनाइएको छ ।

यसबाट बैंंकका ग्राहकले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले देशैभरि १ सय ११ शाखा, ९९ एटिएम र १ सय ४ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

Top