दशैँभन्दा रोजगारी ठूलो !

घटस्थापनाका दिन दशैँ सुरु भएको मानिन्छ । स्वदेश होस् कि विदेश, घरबाट टाढा बस्नेहरू अरू समयमा नसके पनि दशैँमा सकेसम्म घर आउँछन् । यसैले त बसपार्क र विमानस्थमा यात्रुको बाक्लो चलहपलह हुन्थ्यो ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने दशैँको मुखमा स्वदेश फर्किनेहरूमात्रै भेटिँदैनन्, रोजगारीका लागि विदेश जानेहरू पनि उत्तिकै हुन्छन् । रोजगारी दिने कम्पनीले नेपालको दशैँ जान्दैन, पुग्नुपर्ने दिन तोकिदिन्छ ।

यही साताको एक दिन बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानकक्ष सुनसान थियो । बाहिरपट्टि पाँच जना नेपाली युवाहरू उभिएका थिए । उनीहरूको गलामा खादा थियो, थोरै लगेज पनि ।

उनीहरू सबै आआफ्ना मोबाइल फोन सेटमा व्यस्त देखिन्थे । अनुहारमा एक किसिमको उदासी झल्किन्थ्यो । कोरोना भाइरस संक्रमणले ग्रस्त दशैँको मुखमा रोजगारीका लागि विदेश जान परिवारजनबाट बिदा भएर विमानस्थल आइपुगेका थिए ।

यही समूहमा थिए बुटवलका २५ वर्षीय रामु अर्याल । विमानस्थलमा सामाजिक दूरी कायम गर्न रेखकन गरिएको छ । आफ्नो परिचय दिएर उनको गन्तव्यबारे जिज्ञासा राख्दा आफू रोजगारीका लागि युएइ (युनाइटेड अरब इमिरेट्स) जान लागेको बताए ।

कोरोना भाइरसको संक्रमणभन्दा पनि दशैँको समयमा परिवारलाई छोडेर विदेशिनु परेकोमा दुःख लागेको बताए । उनी गत फागुनमा डेढ महिनाको बिदामा घर आएकोमा कोरोनाका कारणले फर्किन नपाएका रहेछन् । उनले भने, ‘बिदा सकिएपछि लकडाउन भयो, जान पाइनँ । अहिले कम्पनीले बोलायो ।’

रामु युएइमा फास्ट फुडमा काम गर्थे । उनले चार वर्ष युएइमै बिताए । त्यतिन्जेल दशैँ मनाउन पनि पाएनन् । छोटो बिदामा आए पनि लकडाउनका कारणले फर्किन पाएका थिएनन् । यसपालि घरमै दशैँ मनाउन पाउँने भएँ भनेर ढुक्क थिए । उनले भने, ‘दशैँकै मुखमा कम्पनीले बोलायो, बोलाएका बेला जानै पर्‍यो ।’

झण्डै सात महिना बेरोजगार बस्नु परेको तोडमा कम्पनीले फोन गरेर बोलाएपछि उनलाई दशैँभन्दा रोजगारी ठुलो भयो । ‘आधा वर्ष त लकडाउनमै बित्यो, बेरोजगार भइयो,’ उनले भने, ‘बल्ल कम्पनी बोलाएको छ, नगई भएन ।’

युएइमा पनि कोरोना संक्रमणको जोखिम छँदैछ । यस्तो जोखिमको बेलामा देश छोडेर जानुपरेकोमा भने रामु उति चिन्तित देखिएनन् । ‘बुटवलमा मलाई एकपटक कोरोना पोजेटिभ भइसकेको छ, दुई साता आइसोलेसनमा बसेर निको भएँ । कोरोना जहाँ जति बेला पनि लाग्न सक्छ,’ उनले भने, ‘अरूसँगको सम्पर्कबाट टाढा हुनुपर्छ, कोरोनाबाट डराउनु पर्ने अवस्था छैन ।’

दोहोरिएर कोरोना पोजेटिभ देखिए पनि आफू निको हुनेमा उनी विश्वस्त देखिए । उनले भने, ‘एकपटक पोजेटिभ भइसकेँ । कोरोनासँग जुधेरै भए पनि काम गर्नु छ, परिवार पाल्नु छ ।’

दशैँभन्दा रोजगारीको चिन्ता

रामुसँगै थिए रामेछापका ग्याल्मु लामा । कम्पनीबाट पाएको बिदा सदुपयोग गर्न उनी युएइबाट गत माघमा घर आएका थिए । तीन महिनाको बिदा सकिँदा कोरोनाका कारण सबैतिर लकडाउन भइदियो । युएइमा बिजुलीसम्बन्धी काम गर्थे ।

बिदा सकिएर फर्किन नपाएपछि यता बेरोजगार बने । फुर्सदको समयमा खेतीपाती त गरे तर त्यसले मात्रै गर्जो टर्ने भएन ।

‘बिदा सकिँदा सरकारले अन्तर्राष्ट्रिय विमानहरू बन्द गरिसकेको थियो,’ ग्याल्मुले खबरहबसँग भने, ‘सात महिना घरमै काम गरेँ, अवस्था अलि सहज पनि भयो, यही बेला कम्पनीले पनि बोलायो ।’

त्यसो त घरमा कामको खाँचो नभए पनि आम्दानीले नपुग्ने भएकोले विदेश जानु परेको उनको भनाइ थियो । ‘घरमा काम गर्‍यो, राम्रो आम्दानी हुँदैन, खेतबारीमा जति पसिना बगाए पनि वर्षभरि खानै मुस्किल हुन्छ,’ विदेशिनुको बाध्यता सुनाउँदै ग्याल्मुले भने, ‘ठुलो व्यवसाय गर्न लगानी छैन, त्यसैले विदेशतिरै लाग्नु परेको हो ।’

दशैँको मुखमा घर छाडेर हिँड्नु परेकोमा भने उनलाई नरमाइलो लाग्यो । ‘विदेश हुँदा घर जान पाइएन, टाढा छु भनेर चित्त बुझाउथेँ, अहिले घरमै हुँदा पनि दशैँको मुखमा हिँड्नु पर्‍यो !’

कोरोना भाइरसको त्रास भने आफूलाई नभएको उनले बताए । उनले भने, ‘धेरै संक्रमितहरू निको भएर फर्किरहेका छन् । दीर्घरोगीलाई बचाउन अलि गाह्रो हो, हामी जस्ता युवाहरू कोरोना लागिहाल्यो भने पनि निको हुन्छौँ ।’
Source: khabarhub

Top