फ्रान्समा लकडाउन : दोस्रो चरणको संक्रमण तीन गुणा बढीले वृद्धि

फ्रान्समा राष्ट्रब्यापी लकडाउन लागू हुन केही समयअघि मात्र राजधानी पेरिस छाड्नेहरुको लर्को लागेको छ । बिहीबार साँझ कारहरुको ७ सय किलोमिटर लामो ट्राफिक देखिएको स्थानीय मिडियाहरुले रिपोर्ट प्रकाशित गरेका छन् । पहिलो चरणभन्दा दोस्रो चरणको संक्रमण तीन गुणा बढीले वृद्धि भएको तथ्यांकले देखाएको छ ।

कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि शुक्रबार मध्यरातदेखि फ्रान्समा लकडाउन लागू भएको छ । नयाँ प्रतिबन्धअनुसार मानिसहरुलाई घरमा अत्वाश्यक काम र स्वास्थ्य कारणबाहेक घरमा नै बस्न भनिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले कोरोनाभाइरसको दोस्रो लहरले पहिलो लहरको तुलनामा पूरै देशलाई प्रभावित पार्ने खतरा रहेको बताएका छन् । अप्रिल यता फ्रान्समा कोरोनाभाइरसको कारण मर्नेको संख्या सबैभन्दा उच्च रहेको छ । बिहीबार थप ४७ हजार ६३७ संक्रमित थपिँदा २५० जनाले ज्यान गुमाएका छन् ।

भाइरसको असर भने पहिलो चरणको भन्दा कडा रहेको अनुमान गर्दै त्यसबाट जोगिनका लागि युरोपका कतिपय मुलुकहरुले धमाधम लकडाउन र कर्फ्युसमेत घोषणा गरेका छन् । केही देशहरुले स्वास्थ्य सजगताको मापदण्डलाई कडाइपूर्व लागू गरेका छन् ।

युरोपमा संक्रमण दर उच्च रहेका देशहरु ईटाली, स्पेन, फ्रान्स, बेल्जियम, जर्मनी, पोर्चुगल, स्वीडेन डेनमार्क, नर्वेलगायतका देशहरुमा पहिलो चरणभन्दा दोस्रो चरण भाइरस संक्रमण दर उच्च दरले वृद्धि भइरहेको देखिन्छ ।

नर्वेमा दोस्रो चरणको प्रभाव देखिन थालेको छ । यहाँ अहिलेसम्म १९ हजारमा संक्रमण पुष्टि भएको छ भने २८० जनाको मृत्यु भएको छ । यहाँको सरकारले अक्टोबर २९ तारिखबाट लागु हुने गरी सबै सार्वजनिकस्थलमा मास्कको प्रयोग अनिवार्य गरेको छ । निजि घर, पार्कमा ५ जनाभन्दा बढी भेटघाट निषेध गरेको छ ।

Top