युनाइटेड इदी–मर्दी हाइड्रोपावरले आईपीओ जारी गर्ने

युनाइटेड इदी-मर्दी एण्ड आर.वि हाइड्रोपावर कम्पनीले आईपीओ (साधारण सेयर) जारी गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँको दरले ८ लाख ७३ हजार ९१० कित्ता सेयर जारी गर्न लागेको हो । हाईड्रोपावरले सर्वसाधारणलाई ६ लाख ३० हजार कित्ता सेयर छुट्याएको भएपनि स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता थपेर ८ लाख ७३ हजार ९१० कित्ता सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले स्थानीयको लागि भन्दै ४ लाख २० हजार सेयर बिक्री गरेकोमा १ लाख ७६ हजार ९० कित्तामा मात्रै आवेदन परेको थियो । कम्पनीले बिक्री गर्न लागेको ८ लाख ७३ हजार ९१० कित्तामा सामूहिक लगानीकोषको लागि ४३ हजार ६९६ कित्ता सेयर छुट्याइएको छ भने कर्मचारीका लागि १७ हजार ४७८ कित्ता सेयर छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले ८ लाख १२ हजार ७३६ कित्तामा आवेदन दिन पाउने छन् ।

उक्त सेयरमा कात्तिक २७ गतेबाट मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा मंसिर ११ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ दिएको छ । लगानीकर्ताले सी-आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

Top