यूएईमा अब आप्रवासीलाई निकै सहज हुने, अविवाहित जोडी पनि सँगै बस्न पाउने Abroad News Policy by Remit Khabar - 13/11/20200 संयुक्त अरब इमिरेट्स (यूएई) मा हालै नागरिक र अपराधसम्बन्धी कानुन व्यापक परिवर्तन गरिएको छ। आफ्नै नागरिक तथा आप्रवासीको जीवन सहज बनाउन कानुन संशोधन गरिएको यूएई सरकारले जनाएको छ। बीबीसीका अनुसार अबदेखि यूएईमा बस्ने आप्रवासीले व्यक्तिगत मामिलाका मुद्दा आफ्नै देशका कानुनअनुसार समाधान गर्न अनुमति पाउने भएका छन्। जस्तो : सम्पत्ति लेनदेन, शारीरिक सम्बन्ध, सम्बन्ध विच्छेद, मादक पदार्थ, महिला सुरक्षा आदि। प्रवासीका लागि सम्बन्ध विच्छेद तथा सम्पत्तिसँग सम्बन्धित कानुनमा भएका संशोधन महत्वपूर्ण छन्। कानुन संशोधनपछि अब कुनै देशबाट यूएई आएका जोडीले सम्बन्ध-विच्छेद गर्न चाहे आफ्नै देशको कानुनबमोजिम त्यहीं गर्न पाउँनेछन्। अर्थात् आफ्नो देशकै कानुन मान्य हुनेछ। यस्तै त्यहाँ अब कुनै विदेशीले बिनाअनुमतिपत्र रक्सी खाए पनि कुनै कारबाही भोग्नुपर्ने छैन। तर रक्सी पिउँदा तथा खरिद गर्दा भने केही सर्त लागू हुनेछन्। अर्थात् यसका लागि २१ वर्षभन्दा माथि उमेरको हुनुपर्नेछ। यसैगरी अबदेखि यूएईमा अविवाहित जोडीले पनि सँगै बस्न पनि पाउने भएका छन्। यसअघि त्यहाँ अविवाहित जोडी सँगै बस्नु ठूलो अपराध मानिन्थ्यो। कानुनमा गरिएको संशोधनले विदेशी नागरिकले उत्तराधिकार, विवाह, सम्बन्ध विच्छेदलगायत विभिन्न मुद्दामा इस्लामिक अदालतको सजाय भोग्न नपर्ने भएको बीबीसीले जनाएकाे छ।