यूएईमा भएका अवैध कामदारका लागि खुसीको खबर, आममाफीका लागि एक महिना थप ! Technology by Remit Khabar - 07/12/20180 यूएई सरकारले अवैध रूपमा बसेका कामदारलाई वैध हुन वा घर फर्किन आममाफी योजनाको अवधि अझ १ महिना थप गरेको छ। आफ्नो राष्ट्रिय दिवसको अवसरमा युएईले यस्तो निर्णय लिएको हो। यो सुविधा डिसेम्बर २ देखि अर्को एक महिनाको लागि लागु हुने गरि यो कार्यक्रम ल्याईएको हो। यस भन्दा अघि दिइएको आममाफी कार्यक्रम ३ महिनाको लागि थियो जसको म्याद अक्टोबर ३० मा सकिएको थियो। त्यसपछि दोश्रोपटक थपिएको एक महिनाको समय पनि नोभेम्बर ३० मा सकिएको थियो। यूएई स्थित नेपाली राजदूतावासको अनुसार नोभेम्बर ३० सम्मको आममाफी प्रक्रियाबाट १ हजार भन्दा बढी नेपाली घर फर्कि सकेका छन्। धेरै नेपालीको वैध भएर त्यहीँ काम गर्न मन भएको पनि पाईएको छ। दूतावास मार्फत १ सय ४५ जनाले राहदानी बनाएको र उनीहरूमध्ये धेरैले जागिर खोज्नकै लागि ६ महिने भिसा लगाएका छन्। १ सय ८८ जनाले ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्किएका छन् । आममाफी प्रक्रियामा सहभागी हुनेमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको पनि राजदूतावासको अधिकारीले जनाएका छन्। युएई सरकारले अवैधानिक बसोबास गरिरहेका नेपालीसहित अन्य मुलुकका कामदारलाईर् वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रक्रिया पुरा गरी मुलुक फर्कन आग्रह गरेको थियो। भिजिट भिसामा आएर ओभर स्टे गरेका, घरेलु महिला कामदार, बिचमा काम खोजेर बस्नेहरू तथा राहदानी नभएर अवैधानिक भएका नेपाली आममाफी प्रक्रियामा सहभागी भएका हुन्। वैध हुन चाहने वा घर फर्किन चाहने र पहिलो र दोस्रो चोटिमा छुटेका नेपालीका लागि थप गरिएको समय निकै लाभदायिक हुनेछ। विभिन्न कारण अवैध बनेका नेपालीहरूलाई आममाफी कार्यक्रममा सहभागी भएर वैद्य बन्न नेपाली दूतावासले आग्रह गरेको छ। तपाईँ पनि छुट्नुभएको थियो भने मौकाको फाइदा उठाईहाल्नुहोस्। नोट : यो लेख खलिज टाइम्समा भएको समाचार अनुवाद गरी र नेपाली राजदुतावास, यूएईको फेसबुक पेजमा भएको जानकारीका आधारमा तयार पारिएको हो।