विभागले सुरु गर्यो अनलाइन टोकन सेवा, अब श्रम स्वीकृति लिन लाइन बस्नु नपर्ने

वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले मङ्सिर १६ गतेदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ। यो सेवाको सुरु सँगै अब कामदारले श्रम स्वीकृति गर्दा लाइन बस्नु नपर्ने भएको छ। अनलाइन टोकन प्रणालीमार्फत पहिले नै समय निश्चित गरेपछि आफ्नो पालो आएको बेला मात्र गए हुने भएको छ।

टोकन प्रणालीबाट कामदारले नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण जस्ता सेवा पाउन सक्नेछन्। वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा जानुपर्ने छ।

टोकन लिनका लागि सेवाग्राहीले आफै अनलाइन फारम भर्न सक्छन्। यो भरेपछि टोकन नम्बर, आउने मिति र समय पाउनेछन्। जुन अनुसार आफ्नो कामका लागि विभाग जानुपर्छ।

रोजगार कार्यालयमा व्यवस्थित प्रणाली नहुँदा विदेश जाने युवाले सास्ती खेप्दै आएका थिए। यो सेवा सुरु भए लगतै कामदार आएर घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ।

पछिल्लो समयमा वैदेशिक रोजगार कार्यालय ताहाचलमा सेवाग्राहीको अत्यधिक भीड बढेपछि आइतबारदेखि पूर्णरूपमा अनलाइन प्रणालीबाट सेवा दिन थालेको हो।

थप जानकारीका लागि वैदेशिक रोजगार कार्यालय, ताहाचलको सूचना हेर्नुहोस्:

Top